साउन महिना सुरु भएसँगै महिलाहरुका लागि हरियो चुरापोते र मेहन्दी माहोल सुरु भएको छ । साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले महिलाहरूले महिनाभरि हरियो चुरापोते र मेहन्दी लगाउने गर्छन् ।
अरु समयमा नलगाए पनि साउन महिनामा महिलाहरुले विशेष रुचिका साथ हरियो चुरापोते र मेहन्दी लगाउने गरेको पाइन्छ । यस महिनामा अधिकांश महिलाले व्रत बस्ने, माछामासु, लसुन-प्याज नखाने, नङ, कपाल नकाट्ने र हरियो चुरा, हरियो पोते र मेहन्दी लगाउने गरेका छन् ।
भगवान शिवको प्रिय बार सोमबारमा ब्रत बसेर हरियो र रातो पहिरनका साथै मेहन्दी, चुरा, पोते लगाएमा भगवान खुसी हुने जनविश्वास छ । अविवाहित महिलाहरु पनि योग्य वर प्राप्तीका लागि महिनाका सबै सोमबार ब्रत बस्छन् । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ ।
साउनको सुरुवातसँगै काठमाडौंका मेहन्दी र चुरा पसलहरुमा चहलपहल सुरु भइसकेको छ । फुटपातहरुमा पनि मेहन्दी लगाइदिने र लगाउनेको चहलपहल देखिन थालेको छ । तर याे वर्ष भने कोरोनको महामारीका कारण विगतकाे जस्तो मेहन्दी र चुरा पसलमा भिडभाड देखिँदैन ।
हरियो चुरा तथा मेहन्दी लगाउनेको संख्या वर्षैंपिच्छे बढ्दै गए पनि काेराेनाले गर्दा याे वर्ष विगतमा जस्ताे हरियो चुरापोते र मेहन्दीकाे व्यापार नभएकाे व्यापारीहरू बताउँछन् । अहिले परिस्थिति केही सहज हुँदै गएको र अब केही राम्रो होला कि भन्ने आशा रहेकाे व्यापारीहरु बताउँछन् ।