काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न व्रतालुलाई आग्रह गरेकी छन् ।
उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्व-२०८२ का पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सो आग्रह गरेकी छन्। उनले भनेकी छन्, “छठ पर्वको अवसरमा हामी सबैले एक-अर्काप्रति हार्दिकता, आदर र सहकार्यको भावना बढाउँदै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षण गर्ने संकल्प लिनुपर्छ ।”
नेपाल विविध भाषा, संस्कृति र धर्मसँगै बसोबास गर्ने समुदायको साझा घर भएको उल्लेख गर्दै उनले हरेक समुदायले आफ्नो आस्थाअनुसार चाडपर्वहरू मनाउनु र अन्य समुदायका पर्वहरूमा हार्दिकतापूर्वक सहभागी हुनु हाम्रो एकताको सुन्दर परिचय भएको बताएकी छन् । नेपालको संविधानले यस्तै बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र क्षेत्रीय विविधतालाई आत्मसात् गर्दै सबै नागरिकबीच सम्मान र एकताको भावना स्थापनाको आधार तयार गरेको उपसभामुख रानाको भनाइ छ ।
पारिवारिक सुख, शान्ति र कल्याणको कामना गर्दै सूर्य देवताको आराधना गर्ने यो पर्व अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर प्रकृति, जीवन र श्रमप्रति आस्था प्रकट गर्ने हाम्रो मौलिक सांस्कृतिक परम्पराको प्रतीक हो । छठ पर्वले हाम्रो व्यक्तिगत र सामाजिक जीवनमा प्रकाश, आशा र सकारात्मक ऊर्जा भर्ने पर्व हो । सन्देशमा भनिएको छ, “छठ पर्वले हामी सबैमा एकता, आपसी सद्भाव, सहकार्य र देशप्रतिको निष्ठाको भावना जगाओस्, राजनीतिक स्थिरता, विश्वसनीयता र सुशासन स्थापना गर्दै समुन्नत नेपाल निर्माण गर्ने मार्गमा हामी सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”