कोभिड–१९ (कोरोना भाइरस) रोकथामका लागि गरिएको बन्दाबन्दीको अवधिमा अण्डाको मूल्य तीनपटक वृद्धि भएको छ ।
अण्डा उत्पादक सङ्घले बुधबार मात्र प्रतिक्यारेट २० रुपियाँको दरले अण्डाको मूल्य वृद्धि गरेको छ । यसअघि २८५ रुपियाँमा किसानको फर्मबाट बिक्री हुने अण्डा अहिले ३०५ रुपियाँ पुगेको छ । त्यही अण्डा उपभोक्ताको भन्सासम्म पुग्दा क्यारेटको ३५०–३६० रुपियाँ पुग्ने सङ्घका अध्यक्ष शिवराम केसीले बताउँछन् ।
अहिले कुखुरा उत्पादन कम भएको कारणले अण्डा उत्पादन कमी आएको छ । पछिल्लो समय बन्दाबन्दी खुकुलो भएपछि अण्डाको मागमा पनि वृद्धि भएको हुनाले यो मूल्य वृद्धि भएको उनी बताउँछन् ।
उत्पादन कम र माग बढी भएको कारण मूल्य वृद्धि भएको सङ्घको भनाइ छ ।
किसानलाई एउटा अण्डा उत्पादन लागत खर्च ११ रुपियाँ ५३ पैसा पर्छ तर उसले १० रुपियाँ ३७ पैसा मात्र पाउने गरेको केसीले दाबी गरे । अहिले पनि किसानले एक रुपियाँ ३७ पैसा घाटामा अण्डा बेचिरहेका छन् । बन्दाबन्दी सुरु हुने बित्तिकै दानाको समस्या भयो । दानाको समस्या हुने बित्तिकै कुखुरामा असर पर्यो । त्यसले अण्डा उत्पादनमा समेत असर पारेको कारण अहिले अण्डा उत्पादन कम भएको केसी बताउँछन् ।