
काठमाडौँ । नेपालका लागि इजरायलका पूर्व राजदूत हानान गोदारले हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीलाई सम्झिँदै फेसबुकमा भावुक सन्देश लेखेका छन् ।
गोदारले सामाजिक सञ्जालमा जोशीसँगको भेटका बेला खिचिएको तस्बिर पोस्ट गर्दै लेखेका छन्, “विपिन जोशी अब हामीमाझ रहेनन् । दुई वर्षको आशा अब अन्त्य भएको छ ।”
उनले लेखेका छन्, “विपिन नेपालबाट इजरायल प्रस्थान गर्नु अघि उनलाई भेट्ने अवसर पाएको थिएँ । उनी ऊर्जावान्, करिष्माई र प्रतिभाशाली विद्यार्थी थिए, जसले आफ्नो परिवार, समुदाय र देशका लागि केही राम्रो गर्न चाहन्थे ।”
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूर्व राजदूत गोदारले भनेका छन्, “रेष्ट इन पिस, विपिन । हामी सबैले तिमीलाई धेरै सम्झिरहनेछौँ ।”
इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनरत विपिन जोशी हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए । सोही घटनामा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । लामो खोजीपछि मंगलबार हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो । डिएनए परीक्षणपछि मात्र उनको पहिचान पुष्टि हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।