
काठमाडौं – जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका युवाको सम्मानमा गोल्यान ग्रुपले सहिद परिवारका लागि विशेष सहयोग कार्यक्रम घोषणा गरेको छ।
समूहले सहिद परिवारहरुप्रति सहानुभूति प्रकट गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
गोल्यान ग्रुपले घोषणा गरेको योजनाअनुसार, जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाका दाजुभाइ–दिदीबहिनी र सन्तानलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ। साथै, उनीहरुको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा पनि आवश्यक सहायता उपलब्ध गराइने छ। यस्तै, सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमाको व्यवस्था गरी दीर्घकालीन स्वास्थ्य सुरक्षा सुनिश्चित गरिने जनाइएको छ।
“सपना अधुरा भए पनि संघर्षको सन्देश अझै बाँकी”
गोल्यान ग्रुपले सहिदहरुको साहस र सपना प्रति सम्मान व्यक्त गर्दै भन्यो, “ज्यान गुमाएका ती युवाहरु शिक्षक, इन्जिनियर, वैज्ञानिक वा भविष्यका नेतृत्वकर्ता बन्न सक्ने क्षमता राख्थे। उनीहरुको सपना अधुरा भए पनि, हामी ती सपनालाई कर्ममा जिवित राख्न प्रतिबद्ध छौं।”
संस्थाले सबै सहिद परिवारसँग गोपनीयता र मर्यादाको उच्च सम्मान गर्दै सम्पर्क गरिरहेको जनाएको छ। “हामीले कुनै नाम वा तस्बिर सार्वजनिक नगर्ने निर्णय गरेका छौं,” समूहले स्पष्ट पारेको छ।
गोल्यान ग्रुपले यो सहयोग कार्यक्रमलाई परोपकार मात्र नभई साझा जिम्मेवारीको रुपमा लिएको बताएको छ। “हामी बुझ्दछौं कि कुनै पनि सहयोगले सन्तान गुमाउनुको पीडा मेटाउन सक्दैन। तर, पीडामा साथ दिनु हाम्रो मानवीय कर्तव्य हो,” समूहको वक्तव्यमा उल्लेख छ।
जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको सम्झनामा समूहले विशेष श्रद्धाञ्जलि अर्पण गर्दै भन्यो, “त्यो दिन गुमाएका हरेक अनुहारको एउटा परिवार छ, जसले आज पनि ती सम्झनालाई अँगालेर बाँचिरहेको छ।”
भदौ २३ को जेन–जी आन्दोलनलाई गोल्यान ग्रुपले “सचेत पुस्ताको साहस र त्यागको प्रतीक” भन्दै स्मरण गरेको छ। “हामीले ती सहिद युवाहरुको सपना केबल सपनामा होइन, कर्ममा पनि जीवित राख्नुपर्छ,” समूहले प्रतिवद्धता जनाएको छ।
गोल्यान ग्रुपको यो कदमले सहानुभूति, समावेशिता र मानवतामाथिको विश्वासलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।