नेपाल मैदा उद्योग संघले अबको २० दिनपछि नेपालमा मैदा/आंटाको हाहाकार मच्चिन सक्ने जनाएको छ ।
संघका महासचिव राधेश्याम अग्रवालले आझ एक विज्ञप्ति जारी गर्दै भारत सरकारले २०७९ बैशाखदेखि गहुँ आयातमा प्रतिबन्ध लगाएसँगै नेपालमा मैदा/आँटाको चरम अभाव भएको जनाएका छन् ।
मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला-साना सबै होटललाई माग अनुसारको मैदा/आँटा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएको विज्ञप्तिमा जनाइएको छ ।
यसले आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकोले सोसमेतलाई प्रत्यक्ष प्रभाव परिरहेको नेपाल मैदा उद्योग संघले जनाएको हो ।
भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुँ खरिद गरिरहेको हुँदा मैदा/आँटाको मुल्य बढिरहेकाले संघले स्पष्ट पारेको छ ।
अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा पुगेको महासचिव अग्रवालले बताए। उनका अनुसार मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन ।
व्यवसायीहरूले भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउन समेत सरकारलाई अनुरोध गरेको छ ।
संघले भारतबाट कोटामा आउने उक्त गहुँले २० दिन हाहाहारीमा मात्र पुग्ने र नेपालमा गहुँ उत्पादन हुनको लागि अझै तीन महिला लाग्ने भएकाले हाहाकार हुनसक्ने बताएको हो ।
गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाईदिन संघले सरकारसमक्ष अनुरोध गरेको छ ।