दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर-५ का पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
एकपटक पक्राउ परेर छुटेका चौधरी पेशाले चिकित्सक हुन् । उनलाई जिल्ला अदालत महोत्तरीबाट पक्राउ पूर्जी लिएर मंगलबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तोष पोखरेलले केटिएम दैनिकलाई बताए ।
नेहाले आफूमाथि श्रीमानले दाइजोको विषयलाई लिएर पटकपटक कुटपिट गर्ने गरेको भन्दै गत कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाको उजुरी दिएकी थिइन् ।
कात्तिकमा पक्राउ परेका चौधरी केही समयमा छुटेका थिए भने श्रीमतीले पुन: उजुरी दिएपछी उनलाई पक्राउ गरिएको डिएसपी पोखरेलले बताए । एमबिबिएस सकेर एमडी गरिरहेका डा. पंकज कार्यरत काठमाडौंको ग्राण्डी र नर्भिक अस्पतालाबाट उनलाई निकालिएको समाचारमा पनि सञ्चारमाध्यममा आएको थियो ।
प्रेम सम्वन्ध अनि विवाह
काठमाडौँमा बसेर कलेज पढ्दै गर्दा औराही महोत्तरीकी नेहा चौधरी र रामगोपालपुर महोत्तरीका डा.पंकज चौधरीबीच प्रेम भयो । ३ वर्ष प्रेम सम्बन्धमा परेपछि उनीहरूले विवाह गर्ने निर्णय गरे र उनीहरूको निर्णयमा परिवारले पनि साथ दियो । केटा पक्षले डाक्टर पढाउन लाग्ने सबै खर्च केटी पक्षले बेहोर्नुपर्ने सर्त राख्यो । सुरुमा केटी पक्षले आनाकानी गरे पनि छोरीको खुशीको लागि उनीहरूले उक्त प्रस्ताव स्वीकार गरे र ५१ लाख रुपैयाँ नगद दिए ।
२०७७ फागुन ६ गते उनीहरूको इन्गेजमेन्ट भयो र त्यसको एक वर्षपछि २०७८ फागुन २५ गते उनीहरूको विवाह भयो । विवाह भएर घरमा भित्रिएको केही दिन उनले श्रीमान् र सबै परिवारको माया पाइन् । सुरुमा उनलाई श्रीमानले सँगै काठमाडौँ लाने र उतै लगेर पढाउने भनेका थिए । विवाहको केही समयपछि पंकजले नेहालाई घरमा नै छाडेर काठमाडौँ फर्किए ।
काठमाडौँ फर्किएपछि पंकजले गर्ने व्यवहारमा केही फरक पाएको नेहा बताउँछिन् । ‘सुरुमा एकदमै माया गर्ने उहाँले मलाई गर्ने व्यवहार नै अलग भयो, मैले पटक पटक फोन गर्दा पनि उहाँले रेस्पोन्स नै गर्नु हुन्न थियो । उहाँले रेस्पोन्स गरे पनि घरपरिवारले मलाई उहाँसँग बोल्न नै दिनुहुन्न थियो ।’ उनले केटिएम दैनिकसँग भनिन् ।
‘मलाई सासू ससुरा र नन्दले एकदमै फरक व्यवहार देखाउन थाल्नुभयो, मैले पंकजलाई फोन गर्दा पनि कति गरेकी भनेर गाली गर्ने, कुट्ने गर्नुहुन्थ्यो । सासुले त झन् के बोलेको ? के बोलेकी भनेर फोन नै खोस्नु हुन्थ्यो । मेरो श्रीमान्, मेरा पनि केही व्यक्तिगत कुरा हुन्छन्, तर घरपरिवारले मलाई एक्लै बोल्न दिनुभएन । अझ, राती हामी फोनमा कुरा गर्छौँ भनेर मेरो सासू आमा पनि मसँग नै सुत्नुहुन्थ्यो ।’ नेहा भन्छिन् ।
घरमा घरेलु हिंसा बढेपछि मैले पनि काठमाडौँ जाने जीत गरे । मैले काठमाडौँ जाने कुरा गर्दा पंकजले, ‘तेरो बाउले घर किन्दिएको छ र यहाँ बस्नलाई ? घर किनिमाग अनि आएर बस’ भन्नुभयो । चिकित्सक जस्तो प्रतिष्ठित पेसामा रहेको व्यक्तिले यस्तो कुरा गर्दा म छाँगाबाट खसे झैँ भए ।
एमबिबिएस सकेर एमडी गरिरहेका डा. पंकजले आमा र बहिनीको कुरा सुनेर कैयौँ पटक आफूलाई कुट्ने गरेको नेहा बताउँछिन् । बहिनी रेखा चौधरी र सासुआमा गोदावरी देवी चौधरीले अनेकन् कुरा लगाएर आफ्नो श्रीमानलाई एकोहोरो बनाएको नेहाको आरोप छ ।