मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २२ जना प्रतिनिधिसभाका सांसदहरू प्रतिस्पर्धीभन्दा एक हजार कम मतान्तरले निर्वाचित भएका छन् ।
प्रत्यक्ष निर्वाचित भएका १६५ सांसदहरूमध्ये २७ जना प्रतिस्पर्धीभन्दा १० हजार बढीको मतान्तर कायम गर्दै निर्वाचित हुँदा २२ जना एक हजार भन्दा मतान्तरले निर्वाचित भएका हुन् । तीमध्ये दाङ-२ बाट निर्वाचित रेखा शर्माबाहेक अन्य २१ जना पुरुष सांसद हुन् ।
कम मतान्तरले निर्वाचित हुनेहरूमा नेपाली कांग्रेसका नौ जना, नेकपा (एमाले) का सात जना, जनता समाजवादी पार्टी, नेपाल र नेकपा माओवादी केन्द्रका समान दुई/दुई जना, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद एक/एक जना छन् ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसबाट एक हजार भन्दा कम मतले निर्वाचित हुने सांसदहरूमा एक जना बाहेक सबैको निकटतम प्रतिस्पर्धीमा एमालेका उम्मेदवार थिए ।
सूचना तथा प्रविधि मन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट ११२ मतान्तरले निर्वाचित भए । कार्की ३० हजार ४८३ मतका साथ निर्वाचित हुँदा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए ।
काठमाडौँ-१ मा प्रकाश मान सिंह सात हजार १४३ मतका साथ निर्वाचित हुँदा राप्रपाका रवीन्द्र मिश्रले सात हजार १८ मत पाए । सिंह १२५ मतान्तरले निर्वाचित भएका हुन् ।
धनुषा-२ मा राम कृष्ण यादव २० हजार ११२ मतका साथ निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका एमालेका उमाशंकर अरगरियाले १९ हजार ९५५ मत पाए । उनीहरूबिच जम्मा १५७ मतको अन्तर रह्यो ।
दैलेख-२ मा दिक्पाल कुमार शाही १६७ मतान्तरले निर्वाचित हुँदा कपिलवस्तु-२ मा सुरेन्द्र राज आचार्यले निकटतम प्रतिस्पर्धीभन्दा ३१७ मत बढी पाए । मनाङबाट टेक बहादुर गुरुङ ३२८ मतान्तरले निर्वाचित भए ।
मोरङ-१ मा डिग बहादुर लिम्बु २७ हजार २९७ मतका साथ निर्वाचित हुँदा एमालेका धनश्याम खतीवडाले २६ हजार ८६७ मत पाए । लिम्बु ४३० मतान्तरका साथ निर्वाचित भएका हुन् ।
मुस्ताङमा योगेश गौचन थकालीले एमालेका प्रेम प्रसाद तुलाचन भन्दा ९१४ मत बढी पाउँदै निर्वाचित भए । त्यस्तै भक्तपुर-२ मा दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा ९५७ मत पाउँदै सांसद बने ।
नेकपा एमाले
यो निर्वाचनमा सबैभन्दा कम मतान्तर कायम गर्दै निर्वाचित हुनेमा पर्छन् पूर्व मन्त्री समेत रहेका वसन्त कुमार नेम्वाङ्ग । पाँचथरबाट ४६ मतान्तरका साथ निर्वाचित भएका नेम्वाङ्ले ३२ हजार १३५ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत पाए ।
इलाम-२ बाट सुवास चन्द्र नेम्वाङ्ग ११४ मतान्तरका साथ निर्वाचित भए । उनी ३० हजार २० मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २९ हजार ९०६ मत पाए ।
धनुषा-४ बाट निर्वाचित भएका रघुबीर महासेठ पनि कम मतान्तरले निर्वाचित हुनेमा पर्छन् । उनी ३२ हजार २३६ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत पाए । महासेठ १२४ मतान्तरले निर्वाचित भएका हुन् ।
पर्सा-३ बाट राज कुमार गुप्ता निकटतम प्रतिस्पर्धीभन्दा १६७ मत बढी ल्याउँदै निर्वाचित हुँदा ताप्लेजुङबाट योगेश कुमार भट्टराई २०८ मतान्तरले निर्वाचित भए । भट्टराईले २१ हजार ९४३ मत पाउँदा माओवादी केन्द्रका खेल प्रसाद बुडाक्षेत्री २१ हजार ७३६ मतका साथ दोस्रो स्थानमा रहन पुगे ।
सर्लाही-३ मा हरि प्रसाद उप्रेती ७७० मतान्तरले निर्वाचित हुँदा काठमाडौँ-९ मा कृष्ण गोपाल श्रेष्ठ ९९५ मतका साथ निर्वाचित भए । श्रेष्ठले ११ हजार ९५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले १० हजार ९६१ मत पाउँदै दोस्रो स्थानमा रहे ।
अन्य दलका उम्मेदवार
बर्दिया-२ बाट स्वतन्त्र उम्मेदवार लालविर चौधरी १३६ मतान्तरका साथ पहिलो पटक सांसद हुँदा दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई १९३ मतले पछि पार्दै माओवादी केन्द्रकी रेखा शर्मा विजयी भइन् । शर्माले २६ हजार ८८० मत पाउँदा पोख्रेलले २६ हजार ६८७ मतमै रोकिन पुगे ।
दोलखामा माओवादी केन्द्रका गंगा कार्की ३६ हजार ८२० मतका साथ निर्वाचित हुँदा एमालेका बालकृष्ण शिवाकोटी ३६ हजार ५०५ मतमै रोकिन पुगे ।कार्की ३१५ मतान्तरले निर्वाचित भएका हुन् ।
जसपाका रामसहाय प्रसाद यादव बारा-२ मा माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहालाई ३५४ मतले पछि पार्दै निर्वाचित भए । यादवले १३ हजार ८२२ मत पाउँदा दोस्रो स्थानमा रहेका कुशवाहाले १३ हजार ४६८ मत पाए ।
सुनसरी-२ मा जसपाकै अशोक कुमार राई १७ हजार ५९ मतका साथ निर्वाचित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत पाइन् । राई ४५३ मतान्तरले निर्वाचित भएका हुन् ।
एक हजार भन्दा कम मतान्तरले निर्वाचित हुनेमा नेकपा (एकीकृत समाजवादी) का अम्बर बहादुर थापा पनि पर्छन् । थापा निकटतम प्रतिस्पर्धीभन्दा ८५२ मत बढी पाउँदै निर्वाचित भएका हुन् ।
विस्तृत विवरण