
जुम्ला । पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग र चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
कर्णाली राजमार्गको गगनेखोला क्षेत्रमा यसअघि पनि पटक पटक पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो । राजमार्गको सबैभन्दा बढी जोखिम ठाउँ पनि हो । अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । पहिरो पन्छाउन समय लाग्ने भएको छ ।
त्यसै गरी, मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको हो । मङ्गलबार साँझ ८:५० बजेको समयमा इच्छाकामना गाउँपालिका-५ तुइनखोला स्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
अहिले एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ भने थप लोडर र एक्साभेटर लैजाने तयारी गरिएको छ । प्रहरी निरीक्षक सिंहले पहिरो पन्छाउन कम्तीमा दुई घण्टा लाग्ने जानकारी दिए।
यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरोका कारण सडक एकतर्फी भएको छ । नारायणगढ मुग्लिन सडक खण्डकै नाम्सी खोलामा पहिरो खसेको पहिरो पन्छाएर सडक दुई तर्फी सञ्चालन गरिएको छ । अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन । पहिरोलाई अहिले हटाउने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।