काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद कुनै एक व्यक्तिको निर्देशनमा परिचालित नभएको बताएका छन्। प्रत्येक सांसदले आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा काम गरिरहेको उनको भनाइ छ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै खरेलले सत्तापक्षका सांसदले सरकारका कमजोरी औँल्याउनु र सुधारका लागि दबाब दिनुलाई सरकार ढाल्ने प्रयासका रूपमा बुझ्न नहुने बताए।
उनले प्रतिपक्षी दलहरूले तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने भन्दै दिएका अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। जनताले रास्वपालाई पाँच वर्ष सरकार चलाउन झन्डै दुई तिहाइ मत दिएको उल्लेख गर्दै उनले कसैले चाहँदैमा सरकार नढल्ने दाबी गरे।
“कुनै एक जनाको निर्देशनबाट पार्टीका सबै सांसद लागेका छैनन्। सबै आआफ्नो क्षमता र बलबुतामा नै अगाडि बढिरहेका छन्,” खरेलले भने।
सरकारले सबै विषय थाहा नपाउन सक्ने भन्दै उनले आवश्यक विषय सरकारसमक्ष पुर्याउन सत्तापक्षका सांसदले पनि प्रतिपक्षीको जस्तै भूमिका निर्वाह गर्नुपर्ने बताए। सरकारका कमजोरी सच्याउँदै सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले मुलुकको विकास चाहनेहरू सरकार ढाल्ने गतिविधिमा लाग्न नहुने धारणा राखे।
“हामीले देश चलाउनको लागि राजनीति गरेका हौँ, सांसद र मन्त्री बन्नको लागि मात्र होइन,” उनले भने।
खरेलले पार्टीभित्र विमति राख्ने र असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको बताए।