प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई परमादेशको सरकार भन्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्गत्माक तरिकाले जवाफ फर्काएका छन् ।
शनिबार दिउँसो बसेको प्रतिनिधि सभाको अन्तिम बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशका कारणसँगै काम गर्न पाएको बताएका छन् ।
देउवाले परमादेश नभएको भए सँगसँगै बसेर काम गर्नै नपाउने बताउँदै ठूलाठूला विधेयक पास गर्न नसकिने जिकिर गरे । परमादेशले भेट्न मौका दिएकाले भन्दै न्यायालयले पनि न्याय गर्ने महसुस गरेको उनले बताए ।
उनले भने, ‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले अहिले परमादेशको सरकार भनेर भन्नुहुनेछ, मलाई थाहा छ । यो संसद् पनि परमादेशबाट आएको हो जसले गर्दा हामीसँगै काम गर्न पाइरहेका छौँ ।’
‘परमादेश नभएको भए हामी सँगसँगै बसेर काम गर्नै पाउँदैन थियौँ । ठूल्ठूला विधेयक पास गर्न सक्दैन थियौँ । परमादेशले हामीलाई भेट्न मौका दिएकाले न्यायालयले पनि न्याय गर्ने मैले महसुस गरेको छु ।’ संसदलाई सम्वोधन गर्दै देउवाले भने ।
प्रधानमन्त्री देउवाले गठबन्धनको सरकारले राम्रो उपलब्धी हासिल गरेको महसुस भएको दाबी गरे । गठबन्धन नेतृत्वको सरकारका कारण देशलाई पुनः संविधान बमोजिम मात्र चलाउने पद्धति बसेकोमा जोड दिए ।