
काठमाडौँ- नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले उखु किसानका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्। उनले किसानको लागत र मेहनतको प्राथमिकता राखेर उखुको मूल्य निर्धारण गर्न तथा अनुदान वितरणमा रहेको अपारदर्शिता हटाउन सरकारसँग माग गरिन्।
उनले किसानहरू सधैं आफ्नो पसिनाको मूल्य प्राप्तिका लागि सडकमा आउनुपर्ने बाध्यता अन्त्य गर्न माग गरिन्। उनले सरकारलाई किसानमैत्री अनुदान, सिँचाइ सुविधा र चुरे संरक्षणको ठोस कार्यक्रम ल्याउन आग्रह गरिन्।
उनले चुरे संरक्षणमा भएको लापरवाहीका कारण मधेशमा ठूलो समस्या उत्पन्न भएको भन्दै यसबारे गम्भीर कदम चाल्नुपर्नेमा जोड दिइन्।
महतोले भनिन्‚ ‘उखु किसानको पीडा सरकारले अवमूल्यन गर्न मिल्दैन। उखु किसानको समस्या सरकारले समाधान गरोस्। सधैँजसो आफ्नो पसिनाको मूल्यका लागि सडकमा पुग्नुपर्ने बाध्यता अन्त्य होस्। किसानहरूको समस्या सुन्ने र समाधान गर्ने संस्कार विकास गर्नुपर्छ। अनिमात्रै समृद्धिको सपना पूरा हुन्छ।’