नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले केही घण्टामै मन्त्रीहरू हेरफेरको परिस्थिति बन्दै गएको बताएका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी कार्यालय आलोकनगरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले अब त्यो कार्यान्वयन हुने बताएका थिए।
‘मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ,’ उनले भने, ‘कसले कहाँ कोसँग छलफल गर्यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’
उनले पार्टीका नेताहरूलाई छ महिनाका लागि मन्त्री पदमा पठाइएको र अहिले आठ/नौ महिना भइसकेको उनले बताए।
२२ जेठमा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ सूची पठाएको थियो ।
विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत जवाफ नै नदिइकन मन्त्री फिर्ता बोलाउनु जायज नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादीको निर्णय कार्यान्वयन स्थगन गरेका थिए ।
एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
उनीहरूको स्थानमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई सिफारिस गरेको थियो ।