****घटना १ ****
२०६६ मङ्सिरको २० गते बाँसगढी नगरपालिका–४ शङ्खरियामा एक वृद्धको मृत्यु भयो । त्यहाँ किरियापुत्री कुर्नका लागि वरिपरिका छिमेकीहरू बेलुका जम्मा हुने गर्थे । समयकटनी गर्ने हिसाबले किरियापुत्री कुर्न आएकाहरू गफगाफ गर्ने, आगो ताप्ने र कोही तास खेल्ने गर्थे ।
तर एक दिन त्यो क्षेत्रका पेसेवर जुवाडेहरू जुवा खेल्ने उद्देश्यले नै त्यहाँ जम्मा भए । मरिमराउ परेको घरका छिमेकी मोहन पौडेल (नाम परिवर्तन) पनि त्यही दिन काठमाडौँबाट गाउँ आएका रहेछन् । उनी काठमाडौँमा जागिर गर्थे । छिमेकी घरमा मरिमराउ पर्दा नजाने कुरा भएन । उनी पनि किरियापुत्री कुर्न त्यहीँ पुगे ।
सुरुमा मजाक–मजाकमा उनी पनि खेल्न बसे । दसैँ–तिहारका बेला कहिलेकाहीँ रमाइलो गरे पनि जुवा नै भने नखेलेका ती व्यक्ति पेसेवर जुवाडेको चङ्गुलमा परे । खेल्दै जाँदा उनी हार्दै गए । हार्दै गएपछि उनी जोस्सिँदै पनि गए । फुटकर रूपमै १५/२० हजार रुपैयाँ फालिसकेपछि उनले खल्तीबाट पाँच सय दरको एउटा नखोलिएको बन्डल निकाले । केहीबेरमै उनले त्यो ५० हजार पनि फाले । एकैछिनमा उनले ७०/७५ हजार रुपैयाँ फाले । उनीसँग पैसा सकिएपछि खेल पनि उठ्यो । अन्त्यमा ओठमुख सुकाउँदै मोहनले त्यहाँ उपस्थित सबैसँग आग्रह गरे– ‘प्लिज जे भयो, भयो । मैले यति पैसा हारेको कुरा मेरो घरकालाई नभन्दिनु है ।’
****घटना २ ****
गत साउन २५ गते राति मोरङको सुन्दरहरैँचा नगरपालिका–५ लाटीझोडामा किरियापुत्री बसेकाहरूमाथि आक्रमण भयो। किरियापुत्री रुँग्ने निहुँमा मदिरा सेवन गरी तास खेल्न पुगेका स्थानीय ६ जना युवाहरूको समूहले किरियापुत्रीसहित मरिमराउ भएको घरका सदस्यलाई कुटपिट गरे ।
मरिमराउ भएको घरमा आएका भान्जा पर्ने इटहरीका सुरज आचार्यलाई मध्यरातमा कुटपिट गरिरहेको देखेपछि किरियापुत्री बसिरहेकी खड्गकुमारी अधिकारी र टेकनाथ अधिकारीले उनलाई नकुट्न भन्दै त्यसतर्फ गए । तर उनीहरू तीनै जनामाथि ती युवाको समूहले चिर्पट दाउरा र कुर्सीले आक्रमण गरे र त्यहाँबाट फरार भए । त्यो घटनाको न कतै उजुरबाजुर भयो, नसुनवाइ नै ।
****घटना ३ ****
माघ २० गते सुन्दरहरैँचा–१ हरैँचास्थित इलाका प्रहरी कार्यालय, हरैँचाको पर्खालसँगै टाँसिएको एक घरमुलीको मृत्यु भयो ।श्रेष्ठ थरका ६९ वर्षीय वृद्धको मृत्युपश्चात किरियापुत्रीलाई रुँग्नका लागि पुग्नेहरूले रातभरि तास खेले । शोकको पहिलो दिनदेखि अन्तिम १३औँ दिनसम्म त्यो घर जुवा–अड्डासरह बन्यो । किरियाबसेकाहरू शोकमा थिएतरउनीहरूलाई रुँग्न आउनेहरू तासमा रमाइरहेका थिए ।
रातिमात्र होइन, दिउँसो पनि तासका पेसेवर खेलाडीहरूले मरिमरिराउ भएको सो घर भरिन्थ्यो । तर नजिकै रहेको प्रहरी कार्यालय मूकदर्शक बनिरह्यो । अरू त अरू मरिमराउ भएको घरका सदस्यले नै तासको बन्दोबस्त गरिदिएका थिए । ‘प्रहरी कार्यालयसँगै जोडिएको भए पनि प्रहरीले हाम्रो घरमा आएर जुवा–तास नखेल्नूस्,नखेलाउनूस् भनेनन्,’ किरिया गर्न विराटनगरबाट माइत पुगेकी मृतककी छोरीले भनिन्, ‘हामी शोकमा थियौँ, तास खेल्नेहरू अर्कै धुनमा थिए ।’
****घटना ४ ****
सुन्दरहरैँचा–४ मा पुस महिनाभित्र एकै गाउँका पाँच जनाको फरक–फरक समयमा मृत्यु भयो । अकल्पनीय रूपमा पाँच व्यक्तिको मृत्यु भएपछि सो गाउँमा शोक छायो । तर त्यस ठाउँका केही पेसेवर जुवाडे भने सलबलाउन थाले । कम्तिमा पनि दुई महिना त्यो गाउँ जुवाको अखडा बन्यो । अरूतिर तास–जुवा खेल्दा प्रहरीले कठालो समाउने भएकाले पनि मरिमराउ भएको घर खोज्दै हिँड्ने उनीहरू सुरक्षित अनुभूति गर्दै अड्डा जमाए ।
यी केही प्रतिनिधिमूलक घटनामात्र हुन्, नेपालमा किरियापुत्री रुँग्ने बहानामा तास खेल्ने प्रवृत्तिले सामाजिक विकृतिको रूपमा जरा गाड्दै गएको छ । यो कुनै एक ठाउँविशेषको मात्र कुरा होइन । नेपालका हरेक कुना–कुनामा यो प्रवृत्ति झाँङ्गिएको छ । मेचीदेखि महाकाली होस् वा हिमालदेखि तराई यो विकृति नपुगेको ठाउँ सायदै होला ।
मरिमराउ भएको घरमा किरियापुत्री रुँग्ने संस्कार जोगाउने भन्दै तास खेल्न भेला हुनेहरूले समाजलाई अर्कोतिरबाट खोक्रो बनाइरहेको अवस्था छ । गाउँमा को मर्छ अनि जुवा खेल्न पाइएला भनेर कुर्ने जुवाडेहरू किरियापुत्री रुँग्दा समय बियाल्ने नाममा तास खेल्छन्,त्यो पनि खालका खाल । यस्तो लाग्छ, त्यो कुनै मरिमराउ भएको घर होइन, कुनै क्यासिनो घर हो ।
किरियापुत्री आफन्त गुमाउनुको शोक एउटा कुनामा बसेर पोखिरहेका हुन्छन् । शोकमा सहानुभूति दिन आएका मान्छेहरू भने जुवामा होहल्ला गर्न थाल्छन् । बस्तुभाउ अनि घरबाहिरका काममा हात बढाउन आएकाहरू जुवाडे सावित भइदिन्छन् अनि तास बाँडफाँट र पैसामा हारजितका कुराहरूमा व्यस्त हुन्छन् । हारेको झोँकमा कहिलेकाँही त झगडामा उत्रिन्छन् । जित्नेहरू रमाइरहेका हुन्छन् । हारेका थाप्लोमा हात राख्दै विलाप गर्छन् । यस्ता घरहरूमै लाखौँ करोडौँका जुवाका जित–हारहरू हुने गरेका छन् ।
सचेतनाले छोएन, झन्–झन् बढोत्तरी
‘नखेल्नू जुवा र तास, धनको नाश, जीवनको बनीबास,’ गायक पाण्डव सुनुवारले आफ्नो गीतमार्फ सामाजिक सन्देश दिएको दशकौँ भइसक्यो । स–साना केटाकेटीले तास समाएको देखेमा ठूला भनौदाहरूले यही गीत गाउँदै उनीहरूलाई सचेत बनाउँछन् । तर यो गीतले जुवाडेहरूको मनमा सचेतना आएको छैन ।
गायक सुनुवारले मात्र होइन अन्य सर्जकहरूले पनि आफ्ना सिर्जनामार्फत सामाजिक सन्देश नदिएका होइनन् । हालैमात्र हास्य–व्यङ्ग्य गीतमार्फत सामाजिक विकृति चित्रण गर्न सिपालु गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले ‘एक्का ट्रायल’ शीर्षकको गीत साङ्गीतिक बजारमा ल्याए । बोकेदाह्रीले सो गीतको पहिलो अन्तरामा भनेका छन्, ‘डाँडाघरे काका मरे, तास खेल्न पाइनेभो भरे ।’
यस गीतमार्फत उनले समाजले देखेर पनि ‘अन्देखा’ गर्ने सामाजिक परिपार्टीमाथि दरिलो झापड हानेका छन् । ‘अहिले अन्य विकृतिझैँ मरिमराउ भएको घरमा तासको अड्डा बनाएर कुकृत्य गर्नेहरू हाबी छन्,’ उनी भन्छन्, ‘अझ पछिल्लो पुस्ता, जो मरिमराउ पर्दा मलामी जान चाहँदैनन् । मलामी जाने त उही दुई–चारजना बूढापाकामात्र हुन्छन् । तर शोक परेको घरमा बेलुकी जुवा–तास खेल्न भने युवाहरूको बाक्लो उपस्थिति रहन्छ ।’
आधाजसो युवा वैदेशिक रोजगारीमा गएका कारण गाउँमा हुँदैनन् र भएका आधा पनि मलामी जाने कार्यलाई अपरिहार्य ठान्दैनन् ।तर साँझमा किरियापुत्रीलाई रुँग्ने बहानामा तास खेल्न भने जरुर उपस्थित हुन्छन्, उनीहरू । समवेदना प्रकट गर्न छोडेरउनीहरू रातभर मरिमराउ भएको घरमा जुवा–तास खेल्दै होहल्ला गर्छन् । जसले समवेदनाकै उपहास हुने गरेको देखिन्छ ।
‘डाँडाघरे काका मरे, तास खेल्न पाइने भो भरे’
हास्य–व्यङ्ग्य गीतमार्फत समाजिक विकृति चित्रण गर्न सिपालु गायक श्रीकृष्ण लुइँटेल...
सोमबार, माघ ३ २०७८यो प्रवृत्तिबारे प्रहरी प्रशासन अनभिज्ञ छैन । तर प्रहरी प्रशासन पनि यसमा बेखबरजस्तै बनिदिने गरेको पाइन्छ । अन्यत्रका सानातिना जुवाखालहरूप्रति पनि चनाखो बन्ने गरेको प्रहरी प्रशासन यस्ता घरमा भने लाखौँ, करोडौँका जुवा भए पनि र महिना दिनसम्म अखडा जमे पनि वास्ता गर्ने गरेको पाइँदैन । मरिमराउ भएको घरमा प्रहरीले छापा मार्दैन ।
‘के गर्नु हो, थाहा भए पनि मानवीय संवेदनाका कारण पनि मरिमराउ भएका घरमा हामी दलबलसहित प्रवेश गर्न सक्दैनौँ,’ अनौपचारिक कुराकानीका क्रममा एक जना प्रहरी अधिकृतले भने, ‘यस्ता घरमा छापा मार्दा समाजमा पनि उनीहरूप्रति राम्रो सन्देश जाँदैन ।’ यसैको फाइदा उठाउन जुवाडेहरू मरिमराउ भएको घर पुग्छन्, दिनराततास खेल्छन् । कोहीले मनग्ये पैसा जितेर उठ्छन्, कोेही भने शरीरमा निद्रा अनि ऋण बोकेर घर फर्किन्छन् ।
गायक बोकेदाह्री भन्छन्, ‘प्रहरीले छापा नमार्ने भएका कारण पनि जुवाडेहरूले किरियापुत्री रुँग्ने बहानामा मरिमराउ भएको घरलाई जुवाखाल बनाउँछन् । कसैले जित्ला तर कसैले घरबारी हारेको हुन्छ । यो अभ्यास हटाउन पनि यस्तो कथा सिर्जना गरेको हुँ ।’ मरिमराउ भएका घरमा राति बसेर उनीहरूलाई समवेदना दिने हाम्रो संस्कृति नै रहेपनि तास–जुवा खेल्ने परिपाटीले धेरैको जिन्दगीमा सङ्कट ल्याएको उनी बताउँछन् । यस्तो परिपाटीको अन्त्य गर्न समाज आफैँ अग्रसर हुनुपर्ने गायक बोकेदाह्रीको बुझाइ छ ।
मान्छे नआउने डरमा किरियापुत्री मौन
शोकमा परेको घरलाई जुवाडेहरूले ‘तासको खाल’ बनाइदिँदा पनि किरियापुत्रीहरू मौन समर्थन गर्छन् । अरू त अरू स्वयम् जनप्रतिनिधि वा सार्वजनिक सेवाका कर्मचारी पनि तास नखेल्नू भन्न सक्दैनन् । यसको प्रमुख कारण भनेको मान्छे नआउने डर नै हो ।
गायक बोकेदाह्री भन्छन्, ‘सरकारी कर्मचारी पनि तास नखेल्नू भन्न सक्दैनन् । किनकि, तास खेल्न नपाउँदा मान्छे भेला हुँदैनन् अनि मान्छे नआउने डरका कारण पनि कोही पनि यसको विरोध गर्न डराउँछन् । यसैले पनि मैले आफ्नो रचनामार्फत् तास खेल्ने प्रवृत्तिको विरोध गरेको हुँ ।’
संस्कृतविद् भन्छन्– अरूको दुःखमा जुवाडेको ‘रैला’
आफ्नो मान्छे गुमाउनुको चरम पीडा किरियापुत्रीमा हुन्छ । यसैले पनि मरिमराउ भएको घरमा किरियापुत्रीप्रति सहानुभूति प्रकट गर्न, उनीहरू एक्लै भएका कारण रुँग्न, भलाकुसारी गरेर उनीहरूलाई शोकबाट मुक्त गर्न र काजमा बसेकाले गर्दा बाहिरको काम गर्न नसक्ने भएका कारण ती कामहरू सघाउन किरियापुत्रीको घर जाने प्रचलन रहेको संस्कृतविद मधुसूदन रिजाल बताउँछन् ।
त्यसबाहेक किरियापुत्रीहरूले आफ्नो घरभित्र खाद्यान्न खान नहुने भएका कारण उनीहरूलाई माना चामल पुर्याउनका लागि पनि मरिमराउ भएको घरमा जाने चलन रहेको उनको भनाइ छ । ‘किरियापुत्री रुँग्नु भनेको आफन्त गुमाएका उहाँहरूका नजिक भइदिनु हो, त्यसरी रुँग्ने मान्छेले हामी तिम्रा साथमा छौँ भन्ने आभास दिनुपर्ने हो,’ उनी भन्छन्, ‘तर हाम्रो संस्कृतिलाई मिच्दै अहिले जुवा–तास खेल्ने प्रचलन बढेको छ । अरू शोकको चरम पीडामा पर्दा उनीहरू मस्ती गर्छन्, जुन बिल्कुलै सामाजिक विकृति हो । यसले कसैलाई पनि फाइदा गर्दैन ।’
किरियापुत्रीलाई शोकबाट उन्मुख गराउने सहानुभूतिको कार्यक्रम आयोजना गर्ने, जतिसक्दो उनीहरूलाई शोकबाट मुक्त गराउने कार्यक्रम गर्ने गर्नुपर्नेमा जुवा–तास खेलेर समाजलाई झनै विकृतिको दिशातिर लैजाने प्रवृत्ति हाबी हुनु दुखद विषय रहेको उनको भनाइ छ ।
कानुन भन्छ : किरियापुत्री पनि कारबाहीको भागेदार हुनुपर्छ
जुवा नियन्त्रण ऐन २०६६ मा कसैले पनि जुवा खेल्न नहुनेमात्र उल्लेख छैन, खेलाउन पनि रोक लगाइएको छ । कसैले पनि आफ्नो हक, भोग, चलन, स्वामित्व वा जिम्मामा रहेको घर, कोठा, ठाउँ वा सवारीसाधन उपलब्ध गराई वा जुवा खेल्नका लागि कुनै किसिमको साधन वा सम्पत्ति उपलब्ध गराई जुवा खेलाउन नहुने ऐनमा उल्लेख छ ।
यसैले जुवा–तास खेल्नेलाई मरिमराउ भएको घर उपलब्ध गराएमा घरका सदस्य वा किरियापुत्रीले पनि सजाय भोग्नुपर्ने प्रहरी प्रधान कार्यालयका वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी बताउँछन् ।
त्यसबाहेक जुवाडेहरूलाई लुकाउन–छिपाउन नहुने, उनीहरूले प्रयोग गर्ने नगदी वा जिन्सी सामान लुकाउन–छिपाउन तथा कुनै पनि किसिमको सहयोग गर्न–गराउन नहुने ऐनमा उल्लेख छ । यस्तै, कुनै पनि व्यक्ति जुवा खेलेका ठाउँमा बस्न पनि नहुने बताइएको छ ।
‘धार्मिक संस्कारमा प्रहरीले छापा हान्न सुहाउँदैन’
प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी केसी धार्मिक संस्कारमा प्रहरीको उपस्थिति हुन नसक्ने जनाउँछन् । प्रहरीलाई जानकारी नभएका कारण जुवा–तास खेल्ने गरेको अवस्था आएको हुन सक्ने बताउँदै उनले तत्काल जानकारी भएमा वा उजुरी भएमा जुवा–तास खेल्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सकिने उनको भनाइ छ ।
समाजप्रति प्रहरी र नागरिकको समान दायित्व हुने बताउँदै उनले भने, ‘सम्भवतः प्रहरीलाई जानकारी नभएका कारण त्यस्तो अवस्था आएको हुन सक्छ । आमनागरिकले त्यस्तो अवस्था देखेमा प्रहरीलाई जानकारी गराउनुपर्छ । प्रहरीको आँखा छलेरै जुवा–तास खेल्न सक्छन् । उजुरी परेको अवस्थामा पनि प्रहरीले कुनै प्रक्रिया अगाडि नबढाएमा भने प्रहरीको उदासीनता भन्न सकिन्छ ।’
यस्तै, उनले शान्तिसुरक्षाको प्रश्न उठेमा प्रहरीको चासो हुने उल्लेख गर्दै उनले भने, ‘मरिमराउ भएको र धार्मिक संस्कारमा बसिरहेका मान्छेहरूलाई हामीले बिथोल्न सकिँदैन । मरिमराउ भएको घरमा प्रहरीले छापा हान्न पनि सुहाउँदैन । शान्तिसुरक्षाकै प्रश्न उठेमा भने प्रहरीले तत्काल एक्सन लिन्छ ।’