गत माघ १२ गते केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार महिलाको जननसख्या पुरुषको तुलनामा बढी छ ।
विभागले प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै मुलुकभर महिलाको जनसंख्या ५१ दशमलव ०४ प्रतिशत र पुरुषको जनसंख्या ४८ दशमलव ९६ प्रतिशत भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।
सङ्ख्यात्मक रुपमा हेर्नेहो भने राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा महिलाहरूको सङ्ख्या पुरुषको भन्दा ६ लाख ९ हजार ८५० ले बढी छ । यो सङ्ख्यामा १८ वर्ष मुनिका किशोरीहरू समेत समावेश भएका छन् ।
अहिले निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता विवरणमा भने महिलाभन्दा पुरुषको सङ्ख्या उच्च देखिएको छ ।
आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा हुने स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुन पाउनेछन् । तीमध्ये पुरूषको सङ्ख्या ८९ लाख ९२ हजार १० , महिलाको सङ्ख्या ८७ लाख ४१ हजार ५३० र अन्य (तेस्रोलिङ्गी) १८३ जना रहेको जनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा महिलाहरूको सङ्ख्या पुरुषहरूको भन्दा २ लाख ५० हजार ४८० ले कम छ ।
यस विषयमा नियमित पत्रकार सम्मेलमा आयोगका प्रवक्ता शालिग्राम शर्माले यो अध्ययनको विषय भएको बताए । सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिँदै उनले भने “हामीले कोही पनि नछुटुन भनेर विभिन्न स्थानहरूमा मतदाता नामावली संकलन गर्ने काम गरिरहेका छौं तर महिलाहरूको सङ्ख्या किन कम भयो भन्नेबारेमा अध्ययन गर्नुपर्ने देखियो ।”
उनले यो विषयमा निर्वाचन आयोगले भन्दा पनि सञ्चारकर्मीहरूले खोज गर्नुपर्नेमा जोड दिए ।