प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ ।
संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।
हिजो सार्वजनिक भएको कार्यसूचीमा पनि एमसीसी दोस्रो नम्बरमा नै थियो तर अन्तिम समयमा आएर आजको बैठक स्थगत गरेर भोलीको लागि सारिएको हो ।
‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।
बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ
एमसीसी संसदमा पेस गर्नुपर्ला भनेर छल्नकै लागि शर्मा संसदमा लगातार अनुपस्थित भइरहेका छन् । ८ फागुनमा अर्थमन्त्री शर्माले एमसीसी संसदमा पेस गर्ने कार्यसूची थियो । तर उनी बिराम भएको बहाना बनाएर उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका थिए । ९ फागुनमा मन्त्री शर्मा बिहानै अर्थ मन्त्रालय पुगेका थिए ।
जबकि अर्थसम्बन्धी विधेयक, सन्धि, सम्झौता अर्थमन्त्रीले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ । तर शर्मा भने पन्छिँदै आएका छन् । आज संसदमा एमसीसीमाथि छलफल हुने सूची सार्वजनिक भएपछि अर्थमन्त्री उद्योग वाणिज्य संघ पर्वतको ४६औं स्थापना दिवस र ३९औं साधारणसभामा सहभागी हुने पर्वत पुगेका छन् । एमसीसीमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्नेमा उनी भने छल्नकै लागि पर्वत पुगेका छन् ।
सम्भवत उनी भोली पनि संसदमा उपस्थित नहुन सक्छन् ।