राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमध्ये १८ पदमा पाँच दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित बने । १९ पदका लागि सातै प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य चुन्न मतदान भएको थियो जसमध्ये एक सिट मात्रै नेकपा एमालेको पोल्टामा गएपनि एमाले नै राष्ट्रिय सभाको ठूलो दल बनेको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश एकमा तीन सदस्य चुन्न भएको निर्वाचनमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका एक/एक जना तथा प्रमुख प्रतिपक्षी एमालेका एक जना उम्मेदवार निर्वाचित भएका हुन् ।
बुधबारको निर्वाचनअघि राष्ट्रिय सभामा एमालेको २४ सिट थियो । बुधबारबाटै एमालेले आफ्नो सात सिट गुमाउँदै १७ सिट कायम राखेको छ । यसैगरी, माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो ।
माओवादीबाट चार सिट रिक्त हुँदै गर्दा थप एक सिट जितेको हो । बुधबार भएको निर्वाचनपछि माओवादी केन्द्रको सिट १५ पुगेको छ ।
यसैगरी, तेस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ भने यसअघि सात सिटमा मात्रै सीमित रहेको कांग्रेसले सिट बढाएर १० पुर्याएको छ । कांग्रेसबाट तीन सिट रिक्त हुँदै थियो ।
यस्तै, एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ । चुनावअघि सात सिटमा रहेको सो दलबाट चार सदस्य रिक्त हुँदै थिए ।
गठबन्धनमा भएको भागबन्डामा नेकपा एसले पाँच सिट पाएको थियो भने अब आठ सिटसहित नेकपा एस चौथो ठूलो दल बनेको हो ।
यसैगरी, एक सिट रहेको जनता समाजवादीले गठबन्धनमा दुई सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । प्रदेश १ मा जसपाले एक सिट गुमाएको हो । अब राष्ट्रिय सभामा जसपा दुई सांसद भएका छन् ।
यसैगरी, प्रतिनिधिसभामा मात्रै रहेको जनमोर्चाको राष्ट्रिय सभामा समेत खाता खोलेको छ । लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन : विजयी कसले कति पाए मतभार ?
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत तथा नेकपा एसकी जयन्ती राई गठबन्धनका तर्फबाट विजयी बन्दा एमालेका सोनम ग्याल्जेन शेर्पाले भने जसपाका उम्मेदवार हेमराज राईलाई पराजित गर्दै विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी, मधेस प्रदेशमा सत्तारूढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी र उर्मिला अर्याल विजयी भएका छन् । सिद्दिकी जसपाका हुन् भने अर्याल माओवादी केन्द्रबाट उम्मेदवार थिइन् ।
यसैगरी, बाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल कांग्रेस मुख्यसचिवसमेत हुन् ।
यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।
यसैगरी, लुम्बिनी प्रदेशमा कांग्रेसका युवराज शर्मा, नेकपा एसकी राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भए ।
सुदूरपश्चिममा पनि गठबन्धनका उम्मेदवार विजयी भए । सुदूरपश्चिमबाट नेकपा एसकी मदनकुमारी शाह (गरिमा), माओवादी केन्द्रका जगत् पार्की र कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।
यसैगरी, कर्णाली प्रदेशमा नेकपा एसका उदय बोहोरा, माओवादी केन्द्रका नरबहादुर विष्ट र कांग्रेसकी दुर्गाकुमारी गुरुङ निर्वाचित भएका हुन् । उनीहरू गठबन्धनबाटै निर्वाचित उम्मेदवार हुन् ।
प्रदेश १ मा भएको निर्वाचन परिणामअनुसार गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका हुन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएको निर्वाचन आयोगले बताएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ । १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ ।
कसले कति मतभार पाए ? हेर्नुस् निर्वाचन आयोगको सूची