नेपाल र भारतको सिमानाबाट त्यहाँ रहेका नेपालीहरु धमाधम रुपमा झापा भित्रन थालेपछि यहाँ कोरोनाको जोखिम अधिक बढेको छ ।
तीनसाता अघि दूइजनामा कोरोना पोजेटिभ देखिएको झापामा तीनदिन यता २५ जना थपिएर २७ जना संक्रमित भेटिएकाछन् । सबै भारतबाट आएर कचनकवलले नै बनाएको दूइवटा अलगअलग क्वारेन्टाइनमा रहेकाहरु हुन् ।
त्यसमा पनि सबै कचनकवल गाँउपालिकाका रहेका छन् । कचनकवल गाँउपालिका सिल भइसकेको छ ।
कचनकवल गाँउपालिकाले मंगलवार नै जोखिम न्यूनिकरणका लागि गाँउपालिका सिल गर्नेदेखि लिएर आवश्यक सबै सावधानी अपनाएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु गएर त्यहाँ रहेका क्वारेन्टाइनको स्थलगत अवलोकन समेत गरेका छन् ।
कचनकवलमा रहेका प्रदेश सभा सदस्य बसन्त बाँनियाका अनुसार सिमामा कडाई गर्ने र त्यहाँ रहेकाहरुलाई सुरक्षित रुपमा ल्याएर क्वारेन्टाइनमा राख्ने बिषयलाई प्राथमिकता दिईएको छ ।
हामी अति जोखिममा परेको महसुस भएको छ र आवश्यक स्वास्थ्य सुरक्षा शर्तकता अपनाउनका लागि लागेका छौ, उनले भने । क्वारेन्टाइनमा बसेकाहरु नै संक्रमित रहेको भेटिएकाले बाहिर फैलन सम्भावना भने कम रहेको जनाईएको छ ।
झापा जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले थप रणनीति बनाउनका लागि आवश्यक छलफल र परामर्श शुरु भएको छ । अब झापा निक्कै जोखिममा रहेकाले आवश्यक सावधानी अपनाउनका लागि सबै रुपमा तयार हुनका लागि छलफलमा रहेका छौ, उहाँले भने ।
झापा जिल्लामा संक्रमितको संख्या २७ पुग्दा सुरुमा संक्रमित देखिएका २ जना निको भएर घर फर्किसकेका छन् ।
जिल्लामा संक्रमण बढ्न थालेसँगै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड क्षेत्र आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ ।