प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई ‘ब्याक’ सार्दै सभापतिमा उम्मेदवारी दिएका नेता गुरुराज घिमिरे मात्र दुई मतले पराजित बने । निर्वाचन समितिले सोमबार बिहान मतपरिणाम सार्वजनिक गर्दै कांग्रेस प्रदेश १ सभापतिमा प्रधानमन्त्री तथा केन्द्रीय सभापति शेरबहादुर देउवा तथा नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा विजयी भएको घोषणा गर्यो ।
हुन त नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गुरुराज घिमिरले पुनः मतगणनाको माग राखेका छन् । आइतबार राति अबेरसम्म अग्रता बनाएपनि सोमबार बिहान आएको अन्तिम मतपरिणाममा दुई मतले पराजित हुनु परेपछि घिमिरेले यस्तो माग गरेका हुन् । घिमिरेले आठ सय ४२ मत प्राप्त गरेका थिए भने थापाले आठ सय ४४ मत पाएका थिए । तर, घिमिरेलाई आफ्नै पक्षका केन्द्रीय नेताहरूले भोट नदिएको आरोप छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दाबेदार डाक्टर शेखर कोइराला, नेतृ सुजाता कोइराला र नेता महेश आचार्यको भोट घिमिरेले पाएनन् । उनीहरू मतदान प्रक्रियामै सहभागी नभएको मोरङका एक कांग्रेस नेताले जानकारी दिए ।
‘आफ्नो मताधिकारसमेत प्रयोग नगर्ने नेताले कदापी कुनै पार्टीको नेतृत्व गर्न सक्दैन’, उनले केटिएम दैनिकसँग भने, ‘शेखर कोइराला, महेश आचार्य र सुजाता कोइरालाले प्रदेश १ मा मत हाल्नु भएन । अब, उहाँहरूलाई पनि कार्यकर्ताले मतदान गर्नुहुन्न । आफ्ना लागि मत माग्नेले मतदानको प्रक्रियामै सहभागी नहुनु निकम्मापन हो ।’ तीन नेताले भोट नहाल्दा घिमिरेले हार बेहोर्नुपरेको उनको भनाइ छ ।
प्रदेश १ को सभापतिमा घिमिरे कम्तिमा दुई ५० मतान्तरले विजयी हुने ठोकुवा संस्थापनइतर समूहले गरेको थियो । आइतबार मतगणनाको सुरुआततिर धमाधम अग्रता बनाइरहँदा घिमिरेपक्ष ढुक्क थियो । तर, मतगणना सकिँदासम्म परिस्थिति फेरियो । मतरिणातमा मात्र दुई अन्तरले पराजित भएपछि हाल संस्थापनइतर समूह घिमिरेको पराजयको कारण खोतलिरहेको छ । नेता–कार्यकर्ताले भने घिमिरेको हारमा तीन केन्द्रीय नेतालाई दोष दिइरहेका छन् ।
मतदानस्थलमै पुगेर पनि केन्द्रीय नेताले मतदान नगरेका कारण घिमिरेले पराजय बेहोरेको नेता–कार्यकर्ताको आरोप छ । शेखर, सुजता र महेशले मतदानस्थलमै उपस्थित भएर मतदान गरेका थिएनन् । उनीहरूले मतदान गरेको अवस्थामा घिमिरेले एक मतले जित्ने अवस्था रहन्थ्यो । तर तीन नेताले भोट नहालेका कारण घिमिरेले पराजय भोग्नुपरेको मोरङ कांग्रेसका एक नेताको दाबी छ ।
‘हारको जिम्मेवारी दुई कोइराला र आचार्यले लिनुपर्छ’, उनले भने, ‘नत्र मतदानस्थलमा उपस्थित भएर पनि किन भोट नहालेको ?’ केन्द्रीय नेताहरू सिटौला, रक्षामन्त्रीसमेत रहेका मिनेन्द्र रिजाल, अमृत अर्यालले भने मतदान गरेका थिए । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने मतदान गर्न गएका थिएनन् ।
निर्वाचान समिति केन्द्रको निर्णय पर्खँदै
नेपाली कांग्रेसको प्रदेश नम्बर १ को मतगणना पुनः गर्नुपर्ने मागको सम्बन्धमा निर्वाचन समितिले केन्द्रको निर्देशन कुर्ने भएको छ । घिमिरेले मतपरिणाम चित्त नबुझेपछि पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएका थिए । पुनः मतगणना गर्दै निवेदन परेको सम्बन्धमा के गर्ने भनी केन्द्रसँग राय लिन पत्राचार गरिएको कांग्रेसको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले जानकारी दिए ।
पुनः मतगणनाका लागि निवेदन आएको र यस विषयमा केन्द्रीय निर्वाचन समितिसँग राय लिएर मात्र के गर्ने नगर्ने भन्ने निर्णयमा पुग्ने उनको भनाइ छ । ‘मत गणनाका लागि निवेदन आएको छ । अब केन्द्रीय निर्वाचन समितिलाई पत्राचार गर्छौँ । उताबाट जे निर्णय हुन्छ सोहीअनुरूप गर्छौँ,’ उनले भने ।
सोमबार बिहान मतपरिणाम सार्वजनिक गर्दै समितिले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा विजयी भएको घोषणा गरिसकेको थियो । विजेता घोषणा गरिसकेका कारण आफैँले पुनः मतगणना गर्न नमिल्ने भएका कारण केन्द्रको निर्णय पर्खिनु परेको उनको भनाइ छ ।