अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षदेखि एमाले महासचिवसम्म
काठमाडौं । नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताका रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका थिए ।
कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका छन् । विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा जन्मिएका भएका पोखरेललाई जनताको बहुदलिय जनवादका व्याख्याताका रुपमा लिने गरिएको छ । २०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५÷२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२÷२०६३ को जनआन्दोलनमा काठमाडाँैको आन्दोलनको नेतृत्व गर्नुभएको थिए । गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पस काठमाडाँैमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए ।
माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव थिए । जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए । संविधान सभामार्फत् राज्यको पुनःसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनःसंरचना सम्बन्धी लिखित दस्तावेज प्रस्तुत गरेका थिए । राज्यको पुनःसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको उनी सचिव थिए । अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्रनम्वर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पार्टीको आठांै राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा उनले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुमा पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उनको नेतृत्वकारी भूमिका रहने गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. तहको अध्ययन पुरा गरेका पोखरेल आर्थिक, सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवांै महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात गरेको थियो । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात् अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नुपर्दछ भन्ने पोखरेलले २०६६ सालमा सूचना तथा सञ्चार मन्त्रीको भूमिकामा थिए ।
लामो समय पार्टी स्कुल विभागको उपप्रमुखको जिम्मेवारीमा रहेर पोखरेलले पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा निकै सक्रिय छन् । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायमगर्न सक्ने नेताहरु मध्ये एक हुन् । विगतमा पार्टी सचिवका रुपमा काम गरिसकेका पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रका विषय समेटिएका थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन पनि गरेका छन् । एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उनको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन गरेका थिए ।
पटक पटक जेल र दर्जनौं पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरु मध्ये एक हुन् । एमालेको भविष्यका रुपमा हेरिएका पोखरेल दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
संक्षेपमा शंकर पोखरेलः
विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तान ।
त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्र’bout राम्रो ज्ञान भएका नेता मध्ये एक ।
आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्य्दिशाको रुपमा आत्मसात ।
जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
२०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५/२०४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका ।
२०६२/२०६३ को जनआन्दोलनमा काठमाडाँैको मोर्चाबाट आन्दोलनको नेतृत्व र गणतन्त्रका पक्षमा काठमाडाँै त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता ।
माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व
माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
एमालेको साताैं महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।
३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई लामो समयसम्म पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका ।
०५१ सालको मनमोहन अधिकारी नेतृत्व सरकारको नीति तथा कार्यक्रम र बजेट मस्यौदाकार ।
फ्रिपीपी (जनताले योजना बनाउने कार्यन्वयन गर्ने र मूल्याङ्कन गर्ने) का पिछल्लो योजनाकार तथा कार्यान्वय कर्ता ।
सतौ महाधिवेशन (जनकपुर) मा संविधान सभाको निर्वाचन मार्फत जतनाको राजनैतिक अधिकार सुनिश्चितता लागि शुत्रधार कर्ता ।
राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
आठाैं राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा प्रस्तुत गर्नुभएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार ।
केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।
साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ युग लहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन साथै एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।
नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।
लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारीमा रही प्रदेश संरचनालाई स्थापित गर्दै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउन भूमिका खेलेका ।
दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित ।