प्रदेशसभा भवनमा संसदीय दलको कार्यक्रममात्रै गर्ने परम्परा छ । तर प्रदेश १ को प्रदेशसभा भवनमा भने नेपाली काङ्ग्रेसले पार्टीको कार्यक्रम गरेको छ ।
बुधबार बुधबार काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पार्टीको पत्रकार सम्मेलन गर्दा प्रदेशसभाको भवन प्रयोग गरेका हुन् ।
कोइरालाले दिउँसो २ बजे प्रदेश १ को प्रथम अधिवेशन आयोजनाबारे पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।
काङ्ग्रेस प्रथम प्रदेश अधिवेशन प्रचार समिति संयोजकसमेत उनले प्रदेशसभाको भवनमा पार्टीको कार्यक्रम गर्ने विषयमा प्रश्न तेर्सिएपछि अनभिज्ञता प्रकट गरे । जवाफमा उनले हतारमा कार्यक्रम गर्नुपरेका कारण प्रदेशसभा भवनमै गरिएको बताए ।
उनले भने, ‘मैले पनि यसबारे विचार गरेको थिएँ । त १२ बजे जिम्मेवारी पाए । हतारमै यहाँ गरियो ।’ यता, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले भने संसदीय दलको नेता नै प्रचार समितिको संयोजक भएका कारण संसद् भवनमा कार्यक्रम गरेको बताए ।
पत्रकार सम्मेलन गर्दा साविक नेपाल कम्युनिस्ट पार्टीको बैठक कक्ष प्रयोग भएको थियो ।