‘लाग्दैन हिलो गोडैम, एमजी रोडैमा’, गीत छायाङ्कन भएको स्थल भारतस्थित सिक्किमको महात्मा गान्धी रोडकै स्तरमा मोरङको विराटनगरमा पनि सडक स्तरोन्नति र सौन्दर्यीकरणको काम सुरु भएको छ । गत शुक्रबारबाट विराटनगर महानगरपालिका–९ स्थित हिमालय रोडलाई एमजी रोडकै स्तरमा स्तरोन्नतिकरण र सौन्दर्यीकरण गर्ने कामको थालनी भएको थियो ।
फाइनल डिपिआरसहितको स्वीकृत योजनाअनुसार शुक्रबारबाट काम सुरु भएको विराटनगर महानगरका सहरी विकास तथा योजना महाशाखाका इन्जिनियर सुजनराज श्रेष्ठले बताए । उनका अनुसार अहिले कामदारहरूले कन्ट्रक्सनको काम गरिरहेका छन् । निर्माण संरचनालाई कुनै किसिमको क्षति नपुग्ने गरी कुल एक सय ४० मिटरको लम्बाइ र नालाबाहेक ११ दशमलव ६ मिटरको चौडाइमा ब्युटिफिकेसनको काम हुँदै छ ।
विराटनगरको महेन्द्र चोक र ट्राफिक चोक जोड्ने उक्त सडकखण्डलाई चार सेक्सनमा वर्गीकरण गरिने बताइएको छ । पश्चिमतर्फ सेक्सन ए मा खुल्ला क्षेत्र र विभिन्न कार्यक्रम सञ्चालनका लागि स्टेज तथा सेक्सन बी मा हरियाली पार्क निर्माण गर्ने महानगरको योजना छ । सेक्सन सी मा फाउन्टेन वाटरपार्क, जनचेतनामुलक र सडक नाटकलगायतका कार्यक्रम सञ्चालनका लागि एमफी थिएटर तथा सेक्सन डी मा दुईचक्के सवारीसाधनका लागि पार्किङ क्षेत्र बनाइने योजना रहेको इन्जिनियर श्रेष्ठले बताए ।
फुटपाथलाई यथावत राखेर आकस्मिक बाहनको आवागमनका लागि पर्याप्त ठाउँ छुट्याएर एमजीस्तरको रोड निर्माणको काम अगाडि बढाइने महानगरको तयारी छ । महानगरका अनुसार चारचक्के सवारीसाधन पार्किङका लागि सडकको पश्चिमतर्फ ८०० स्क्वायर फिटको पार्किङ क्षेत्र निर्माण गरिने छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै यो योजना बनाए पनि कोभिड महामारीलगायतका कारणले उक्त योेजना कार्यान्वयनमा ढिलाइ भएको थियो । तर गत असार २२ गते फाइनल डिपिआरसहितको डिजाइन स्वीकृत भएर भदौ २४ गते सम्झौता भएपछि शुक्रबारबाट यसको प्रक्रिया अघि बढेको हो ।
विराटनगरकै कला बिल्र्डसले ३७ दशमलव ५३ प्रतिशत कम कबोल अङ्कमा योजनाको ठेक्का सम्झौता गरेको छ । महानगरले एक करोड ६१ लाख ४२ हजार एक सय ८३ रुपैयाँको लागत अनुमान गरेपनि कला बिल्र्डसले एक करोड ८३ हजार दुई ७२ रुपैयाँमा योजनाको ठेक्का लिएको हो ।
स्थानीय व्यापारी असन्तुष्ट
विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म प्रायः स्टेसनरी पसल छन् । त्यस आसपासमा रहेका अन्य व्यवसाय पनि महानगरको यो योजनाबाट सन्तुष्ट छैनन् । महानगरको मेनरोडलाई कोसी राजमार्गसँग जोड्ने लिङ्क रोडको रूपमा स्थापित उक्त क्षेत्रमा महानगरको योजनाअनुसारको संरचना ठडिँदा यसले ट्राफिक जामलगायतका समस्या बढ्ने उनीहरूको तर्क छ ।
स्थानीय व्यवसायी माधवप्रसाद बराल महानगरले हचुवाका भरमा योजना बनाएको बताउँछन् । महनगरले सौन्दर्यीकरणको काम थालनी गरेपनि पछि असफल भएमा भत्काउने अवस्था आउने उनको भनाइ छ ।
यता, महानगरले भने सडकको दुवैतर्फ रहेको पसल व्यवसायलाई कुनै बाधा अवरोध सिर्जना नहुने बताउँछ । महानगरले भावी अवस्थालाई ध्यानमा राखेरै निर्माण प्रक्रिया अघि बढाइएको दाबी गर्दै आएको छ । मालसामान ओसारपोसारका लागि सेक्सन बी, सी र डीसम्मको क्षेत्रमा सवारीसाधन लैजान पाइने विषयलाई समेत ध्यानमा राखी निर्माण प्रक्रिया अघि बढाइएको महानगरको दाबी छ ।