
काठमाडौँ । प्रभावहिन बन्दै गइरहेको सार्कको सट्टामा अव विविआईएनलाई अगाडि बढाउनु पर्ने आवाज उठ्न थालेको छ । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले काठमाडौमा आयोजना गरेको कार्यक्रममा अव सार्कको विकल्पमा क्षेत्रीय अर्को संगठनलाई सक्रिय बनाउनु पर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कांग्रेसका पुर्व सांसद तथा कूटनीतिक मामिलाका जानकार दिव्यमणि राजभण्डारीले सार्क प्रभावहीन बन्दै गएको सन्दर्भमा बिबिआइएन अर्थात बङ्गालको खाडी बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोग प्रयासलाई नेपालको क्षेत्रीय कूटनीतिक प्राथमिकता बनाउन जोड दिएका थिए।
उनले भने, अहिले सार्कले अपेक्षित उपलब्धि दिन नसकेको अवस्थामा हामीले बिबिआइएन जस्ता लचिलो, व्यावहारिक र कार्यान्वयनमुखी संरचनामा अग्रसर हुनुपर्छ। यो नेपालका लागि व्यापार, पारवहन, ऊर्जा र समृद्धिको सम्भावना बोकेको प्लेटफर्म हो।
उनको भनाइमा, भारत र चीनसँगको कूटनीतिमा विश्वास र समन्वय कायम गर्दै अनियमित दुईपक्षीय व्यापार न्यूनीकरण गर्न सकिए ती राष्ट्रहरू नेपालप्रति अझ सहयोगी हुन सक्छन्। उनले कुटनीतिक क्षेत्रका नीति निर्माताहरूको कार्यशैलीमा सुधार गर्नुपर्ने, र कुटनीतिक जनशक्ति अभाव अहिलेको मुख्य चुनौती रहेको बताए ।
लामो समयदेखि नेपालका मित्रराष्ट्रहरूसँग पारवहन, व्यापार र कूटनीतिक सम्बन्ध सुदृढ गर्न अध्ययन र संवादमा सक्रिय राजभण्डारीले कुलिङ अफ पिरियड अति आवश्यक भएकोमा जोड दिदैँ अवकास प्राप्त कर्मचारीहरुमा केही गरौँ भन्ने हुटहुटी नहुने गरेको आफ्नो अनुभव रहेको दावी गरे ।
राजभण्डारीको कार्यपत्रमाथी टिप्पणी गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कूटनीति अब विलासिताको विषय नभई अर्थतन्त्रको मुख्य केन्द्रको रुपमा रहेको धारणा व्यक्त गरे ।
उनले भने, आजको विश्वमा विदेश नीति भनेको केवल परम्परागत शिष्टाचार होइन, यो आर्थिक रणनीति हो, अब नेपालले अन्तर्राष्ट्रिय सहकार्य, लगानी, व्यापार र विकास साझेदारीमा गम्भीर तयारीसहित अगाडि बढ्नुपर्छ।
महामन्त्री थापाले कांग्रेसले पछ्याउँदै आएको स्वाभिमानी विदेश नीति, जनमुखी आर्थिक नीति र अन्तर्राष्ट्रिय सहकार्यको सन्तुलित अभ्यासलाई यस्ता गहन छलफलहरुले अझ मजबुत बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।
राजभण्डारीको कार्यपत्रमा नेपालको वर्तमान आर्थिक चुनौती, क्षेत्रीय तथा बहुपक्षीय कूटनीतिक सन्दर्भ र विकास साझेदारीको नयाँ स्वरूपबारे गहिरो विश्लेषण गरिएको थियो।
कार्यक्रममा कांग्रेसका केन्द्रीय नेताहरु, सांसदहरु कूटनीति र अर्थशास्त्रका अध्येता तथा युवाहरुको उल्लेखनीय सहभागिता रहेको विभागका प्रमुख अजयवावु शिवाकोटीले जानकारी दिए ।