काठमाडौँ । रौतहट प्रहरीले ठुलो परिमाणमा लागू औषध गाँजासहित एक कार बरामद गरेको छ।
मंगलवार बिहान गरुडा नगरपालिका-५ झाझपुल नजिकबाट नेपाली नम्बरको ब्रेजा कारबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको प्रहरीले एक क्विन्टल ३३ किलो लागू औषध गाँजा बरामद गरेको हो ।
गौर चन्द्रनिगाहपुर सडक खण्डमा चेकजाँचमा खटेका इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न रोक्न खोज्दा कार चलाख फरार भएका थिए। कारलाई प्रहरीले पछ्याउँदै जाँदा झाझपुलस्थित सडक छेउमा रहेको करिब २० फिट खाल्डोमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको छ ।
त्यसपछि क्रेनको सहाराले गाडीलाई खाल्डोबाट बाहिर निकालिएको थियो। बरामद गाडी हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ। गाडीबाट १ सय ३३ किलो लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा र फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।