नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’को टप–१५ भित्र हाल तीन झापाली प्रतियोगी छन् । प्रतियोगिताको एक चरण पार गरेका झापाका प्रेरणा ओली, कृपा पौडेल र रोशा फुयाँल टप १५ मा पुगेर आफ्नो प्रतिस्पर्धा जारी राखेका छन् । यी तीनै प्रतियोगी उमेरले मात्र १४ वर्षका छन्, तर उनीहरूको ‘धमाका’ले अन्य प्रतियोगीलाई पछार्न सक्छ अनि निर्णायकत्रय न्हु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटालाई मन्त्रमुग्ध पार्न सक्छ ।
अडिसनमा ‘तहल्का’ पिट्दै दोस्रो चरणमा प्रवेश गरेका यी तीनैले जज तथा ग्रान्ड जुरीलाई मुहुनी लगाउने क्रम जारी नै छ । अझ, टप–१५ भित्र उनीहरूको प्रस्तुतिले अघिल्लो चरणसम्म सहजै पुग्न सक्ने आङ्कलन गरिएको छ । शीर्ष–१५ मा रोशाले ‘सिन्का सिन्का’ जोडेर बोलको गीत गाइन्, गीतजस्तै जजहरूसँग मन जोड्न सफल भइन् । प्रेरणाले ‘झिल्केले…’ बोलको गीत गाउँदै स्टेज तताउँदा कृपाले ‘म प्यार बेचिदिन्छु’ भन्दै आफ्नो कला फिजाइन र महँगोमा बेचिन् पनि । अब, यी तीनैले अघिल्लो चरणमा प्रवेश गर्ने अपेक्षा लिएका छन् ।
कृपा पौडेल
बिर्तामोड नगरपालिका–३ रामचोक घर भएकी कृपा हाल कक्षा ९ मा अध्ययनरत छिन् । स्थानीय मनमाया माध्यमिक विद्यालयमा अध्ययनरत कृपा सानैदेखि गुनगुनाउँथिन् । सङ्गीत सिक्न थालेको भने लामो समय भएको छैन । बिर्तामोडस्थित ‘सप्तक द इन्स्टिच्युट अफ पर्फमिङ आर्ट्स’मा विगत चार महिनादेखि सङ्गीत सिक्न थालेकी हुन् । त्यसअघि केही समय सरगम सङ्गीतालयमा म्युजिक सिकिन् ।
उनको परिवारमा अरू कोही गायन विधामा छैनन् । तर उनलाई भने सङ्गीत क्षेत्रमा ठुलो रुचि छ । उनले यसअघि कुनै गायन रियालिटी सोमा सहभागिता जनाएकी छैनन् । तर पनि निरन्तरको साधनाले उनलाई एक कुशल गायिका बन्नतिर डोहोर्याउँदै छ । ‘परिवारमा अरू कोही सङ्गीत क्षेत्रमा छैनन् तर सानैदेखि उसले यो क्षेत्र मन पराएकी छ’, आमा अनिता पौडेल भन्छिन्, ‘छोरीको रुचि मात्र नभए सपनै एउटा गायिका बन्ने छ । यसलाई साकार बनाउन सारेगमपले साथ दिइरहेको छ ।’
विद्यालयका केही साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएर श्रोतालाई मन्त्रमुग्ध बनाउन सफल कृपा प्रदेशस्तरीय गायन प्रतियोगिताकी उपविजेता भइसकेकी छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कार थापेकी कृपाले झन् आफूलाई दृढ बनाएर यस क्षेत्रमा समर्पित गरिन् । सङ्गीत क्षेत्रमा आफूलाई निखार बनाउन उनले शिव ताण्डव स्तोत्र गाएर युट्युबमामा हालेकी छन् ।
प्रेरणा ओली
प्रेरणा पनि पनि कक्षा ९ मै पढ्छिन् । कन्काई नगरपालिका–५ सुरुङ्गा घर भएकी उनी स्थानीय विद्यारत्न आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत छिन् । उनी सङ्गीत क्षेत्रमा आउनुका कारण भने बुबा हुन् । बुबाले सङ्गीत क्षेत्रमा व्यावसायिक रूपमा केही गर्न नपाएकाले प्रेरणाले बुबाको सपना पूरा गर्न साङ्गीतिक क्षेत्र रोजिन् ।
उनका बुबा प्रेम ओलीले गीत गुनगुनाउने गरिरहन्थे । बुबालाई साथ दिइरहन्थिन् उनी । तर प्रेमलाई मुटु रोगले च्यापेपछि उनले गीत गाउन छोडे । पछि उनको मुटुको अपरेसन भयो । त्यसपछि प्रेमले प्रेरणालाई गायन क्षेत्रमा केही गर्नुपर्छ भनेर साहस दिए । बुबाको सपना पूरा गर्न सङ्गीत क्षेत्रमा होमिएकी उनले प्रेरणाले औपचारिक रूपमा सङ्गीत सिक्न थालेको भने धेरै भएको छैन ।
कक्षा ४ बाट भने उनले विद्यालयमा हुने स–साना प्रतियोगितामा सहभागिता जनाइन् । साधना अपुग भएको आभास भए पनि उनले केही समयअघिदेखि बिर्तामोडका ध्रुव पाठकसँग सङ्गीत सिक्न थालेकी छन् । लकडाउन सुरु भएपछि म्युजिक सिक्न थालेकी उनले एक वर्षसम्म निरन्तरता दिइन् । त्यसपछिका दुई वर्ष उनी खाली नै बसिन् । घरमै बसेर गुनगुनाउँथिन् । यसैबीचमा सारेगमपको अडिसन सुरु भएको थियो । त्यसमा आफूले सँगालेको अनुभव प्रस्तुत गर्दै उनी टप–१५ सम्म आइपुगेकी हुन् ।
हाम्रो परिवारमा खुलेर सङ्गीत क्षेत्रमा लागेकी प्रेरणा नै हुन्’, प्रेरणाकी आमा हेमा सङ्ग्रौला ओली भन्छिन्, ‘अलि–अलि लगाव प्रेरणाको बुबामा थियो तर रोगका कारण उहाँले यस क्षेत्रमा केही गर्न पाउनु भएन । म बाबाको सपना पूरा गर्छु भनेर लागिपरेकी छ । मेहनत पनि राम्ररी गरेकी छ, झन् सारेगमपले उसको सपनालाई सफल बनाउँदै छ ।’
रोशा फुयाँल
रोशाको अनुभव भने प्रेरणा र कृपाको भन्दा केही लामो छ । उनले औपचारिक रूपमा सङ्गीत सिक्न थालेको आठ–नौ वर्ष भयो । चार वर्षको उमेरबाट सङ्गीत सिक्न थालेकी उनले पनि श्रोतालाई मन्त्रमुग्ध बनाउने क्रम जारी नै राखेकी छन् ।
उनका दाजु रोशन हुन्, रोशाको पहिलो गुरु । सङ्गीतमा रोशनकै हात समातेर अगाडि बढेकी रोशाले दाजुसँगै हार्मोनियम चलाउन सिकिन् । दाइ पनि सङ्गीत क्षेत्रमा लागिपरेका छन् । उनकै बाटोमा अगाडि बढ्नेक्रममा छिन्, रोशा पनि । सङ्गीतमै केही गर्छु भनेर अगाडि बढिरहेकी उनलाई सारेगमपले साथ दिइरहेको छ ।
‘सारेगमपले उसको सपनालाई साकार गर्ने काम गरिरहेको छ’, रोशाकी आमा कला बाँस्कोटा भन्छिन्, ‘दाइले सिकाएको हो । दाइले सिक्दै गर्दा उसलाई राग र हार्मोनियम सिकाउँथ्यो । उसले डोहोर्याउँदै गर्दा सारेगमपसँग रोशाको भेट भएको हो । एक दिन गायिका बन्छु भनेर सपना सुनाइरहन्थी । सायद यहीबाटै पूरा हुन्छ ।’
मेचीनगर नगरपालिका–८ स्थायी घर भएकी उनी हाल बिर्तामोड–५ बस्छिन् । स्थानीय देवी माविमा कक्षा ९ मा अध्ययन गर्ने उनले बिर्तामोडकै सनलाइट म्युजिक स्कुलमा सङ्गीत सिकिरहेकी छन् । अहिले उनी अरू प्रतियोगीजस्तै सारेगमपमा सहभागी छिमेकी मुलुक भारत र स्वदेशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।