काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा ‘नेसनल स्टुडेन्ट ह्याकाथन स्टार्टअप’ कार्यक्रम आयोजना गर्ने भएको छ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा हिसानले माघ ८ देखि १० गतेसम्म कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो। कार्यक्रममार्फत १० हजार युवा विद्यार्थीलाई स्टार्टअप, उद्यमशीलता र नवप्रवर्तनका क्षेत्रमा जोड्ने लक्ष्य राखिएको हिसानले जनाएको छ।
विद्यार्थीको सिर्जनशीलता, नवीन सोच र व्यावहारिक सीपलाई प्रोत्साहन गर्दै शैक्षिक जनशक्तिलाई उद्योग तथा व्यापार क्षेत्रसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हिसानका अध्यक्ष युवराज शर्माले बताए।
उनले गुणस्तरीय शिक्षाको प्रवर्द्धन, निजी शिक्षामा लगानीको सुरक्षा तथा निजी शिक्षामैत्री ऐन–कानुन निर्माणका लागि राज्यलाई निरन्तर झकझक्याउँदै आएको बताए। विद्यालय शिक्षा ऐन अध्यादेशबाटै भए पनि आउने अपेक्षा व्यक्त गर्दै उनले ऐन जारी भएपछि निजी क्षेत्रले गर्नुपर्ने काम र कार्यक्षेत्र थप स्पष्ट तथा व्यवस्थित हुने विश्वास व्यक्त गरे।
हिसानले स्थापनाको ३०औँ वर्षका अवसरमा मंसिर ९ र १० गते विभिन्न प्रदेश तथा जिल्ला तहमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यस्तै, मंसिर ११ गते काठमाडौंमा केन्द्रीय स्थापना दिवस समारोह आयोजना गरिने अध्यक्ष शर्माले जानकारी दिए।