काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारीका लागि समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको देउवा समूहका शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितको बैठकले महाधिवेशन तयारीका लागि आवश्यक समिति गठनको जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जितजंग बस्नेतले जानकारी दिए।
महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन, स्वयंसेवक र मञ्च व्यवस्थापनलगायत १५ देखि २० वटा समिति गठन गर्नुपर्ने भएकाले ती सबै गठन गर्ने अधिकार संयोजक कोइरालालाई दिइएको बस्नेतले बताए। उनका अनुसार कोइरालाले बिहीबारसम्म समितिका संयोजकहरू चयन गर्नेछन्। त्यसपछि संयोजकहरूले आफ्नो समितिमा सदस्य थपेर महाधिवेशनका काम अघि बढाउनेछन्।
बस्नेतले आफ्नो समूह नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै कारबाही गर्ने अधिकार कसैलाई नभएको धारणा राखे।
बैठकमा कांग्रेस नेता कुन्दनराज काफ्लेले आफू रुख चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य रहेको उल्लेख गर्दै आफूलाई कांग्रेस होइन भनेर कारबाही गर्ने अधिकार कसैसँग नभएको बताए। उनले आफूहरूले १४औँ महाधिवेशनकै जगबाट महाधिवेशनको तयारी गरिरहेकाले कारबाहीको कुनै आधार नरहेको जिकिर गरे।
पार्टीभित्र दुईवटा महाधिवेशनको तयारी भइरहेको सन्दर्भमा काफ्लेले पार्टी कार्यालय ‘हाइज्याक’ गरेर विशेष महाधिवेशन गर्न खोज्ने पक्षले नै विवाद समाधानका लागि छलफलको नेतृत्व गर्नुपर्ने बताए।
देउवा समूहले मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।