रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम कायमै रहेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ स्थित हाकुबेँसीका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।
भोटेकोशी नदीको बाढीले गाउँको तल्लो भागमा तीव्र कटान गर्न थालेपछि हाकुबेँसी बस्ती नै जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए।
उनका अनुसार बाढी आएको लामो समय बितिसक्दा पनि जमिन कमजोर हुने र पहिरो खस्ने क्रम रोकिएको छैन। बस्तीमा बसोबास गर्न असुरक्षित भएपछि स्थानीयवासीले प्रमुख जिल्ला अधिकारीमार्फत बस्ती स्थानान्तरणको माग गर्दै लिखित निवेदन दिएका छन्।
बाढी र नदी कटानका कारण गाउँमा रहेको विद्यालय र प्रहरी चौकीसमेत जोखिममा परेका छन्।
आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले विपद्का कारण जोखिममा परेका नागरिकलाई सरकारले सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने बताए। जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्नुको विकल्प नरहेको उनको भनाइ छ।
यसैबीच, भोटेकोशी बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ।
बैठकले जिल्लाका स्थानीय तहका वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेका निर्णय अनुमोदन गरी विस्तृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सिफारिस गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जोखिमयुक्त बस्तीको अवस्थाबारे भूगर्भविद्हरूबाट स्थलगत अध्ययन गराएपछि मात्रै स्थानान्तरणसम्बन्धी ठोस निर्णय लिइने बताए।
उनका अनुसार बाढीमा बेपत्ता तथा सम्पर्कविहीन भएका नागरिकको विवरण वडा तहबाट प्राप्त निवेदनका आधारमा सङ्कलन गरी केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको छ।