बाँके । फल लाग्ने समयमा धानखेतीमा रोगको सङ्क्रमण देखिन थालेपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको बोटमा सुक्ने समस्या देखिएपछि उत्पादन घट्ने भन्दै किसान चिन्तित बनेका हुन्।
डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीका अनुसार केही दिनयता धानको पातमा साना खैरो–हरियो र पानीले भिजेजस्ता थोप्ला देखिन थालेका छन्। सङ्क्रमण बढ्दै जाँदा धानका बोट सुक्दै जाने समस्या देखिएको उनले बताए।
यस वर्ष धानको उत्पादन राम्रो हुने अपेक्षा गरेका किसान पाक्ने बेलामा रोगको सङ्क्रमण देखिएपछि निराश भएका छन्। बुढाथोकीले रोगको समस्या वडा कार्यालय र गाउँपालिकाको कृषि शाखालाई जानकारी गराए पनि रोकथामका लागि प्रभावकारी पहल नभएको गुनासो गरे।
यस्तै समस्या नेपालगञ्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ललवा माहुतको खेतमा पनि देखिएको छ। फल लाग्ने समयमा परेको भारी वर्षा र हावाहुरीका कारण ढलेको धानमा अहिले रोगको सङ्क्रमण देखिएको उनले बताए।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जिल्लाका केही धानखेतमा रोगको सङ्क्रमण देखिएको जानकारी प्राप्त भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताइन्।
उनका अनुसार पालिकास्तरबाट रोगको सङ्क्रमणको अवस्था र त्यसबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ।
बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यस वर्ष जिल्लामा ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।