म्याग्दी– गत साताको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड मर्मतमा इन्धन अभाव मुख्य चुनौती बनेको छ।
असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि आएको बाढीपहिरोले मालढुङ्गादेखि घाँसासम्मको करिब ५० किलोमिटर सडकखण्डमा ४६ भन्दा बढी स्थानमा क्षति पुर्याउँदै यातायात अवरुद्ध भएको थियो।
मुस्ताङतर्फबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी र पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाटसम्मको सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ।
तर, रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह तथा स्विचयार्ड परिसरमा रहेको ‘ग्यान टिटावर’ हटाउन भएको ढिलाइ र मौज्दात इन्धन सकिएपछि सडक मर्मत प्रभावित भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताए।
उनका अनुसार तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्ने कामका लागि प्रयोग हुने डोजर, लोडर, ब्याकहो लोडर र टिप्पर सञ्चालन गर्न डिजेलको अभाव भएको छ। टावर हटाउन ढिलाइ हुँदा दुई दिनदेखि सडक निर्माणको कामसमेत प्रभावित भएको उनले बताए।
इन्धन आपूर्तिका लागि मुस्ताङबाट ढुवानी गर्न अन्तरजिल्ला समन्वय भइरहेको आयोजनाले जनाएको छ। यस्तै, टावर हटाउन राहुघाट जलविद्युत् आयोजनामार्फत माथिल्लो निकायमा पहल भइरहेको छ। पहिरो प्रभावित सडकको निरीक्षण गर्न उच्चस्तरीय टोलीसमेत परिचालन गरिएको छ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पिप्ले–भगवती–बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक बाटो खुलाएर साना सवारी सञ्चालन तथा इन्धन ढुवानी सहज बनाउने काम भइरहेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको प्राविधिक टोलीले शुक्रबार पहिरो प्रभावित सडकको निरीक्षण गर्दै मर्मतका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ।
राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आयोजनाको तहबाट मात्रै निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति आवश्यक रहेको बताए। उनले विषयको प्राविधिक तथा प्रशासनिक पक्ष नबुझी सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गरे।
बाढीले तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहबाट पानी निकासका लागि बनाइएको ‘टेलरेस डक्ट’, सडक, निर्माण कम्पनीका उपकरण तथा क्याम्पमा समेत क्षति पुर्याएको छ। राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ र रातोपानी क्षेत्रमा सडक कटान भएको छ। पोखरेबगरस्थित सडक पुलको पहुँचमार्गसमेत बाढीले बगाएको छ।
रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि महत्वपूर्ण विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्कसमेत सडक अवरुद्ध भएपछि प्रभावित भएको छ। मुख्य पर्यटकीय याममा सडक अवरुद्ध हुँदा पर्यटन गतिविधिमा असर परेकाले बेनी–जोमसोम सडक सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको छ।