काठमाडौं । सडक दुर्घटनाको यथार्थ तथ्याङ्क सङ्कलन, क्षतिको अभिलेख व्यवस्थापन तथा घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली स्थापना गर्ने भएको छ।
सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सडक दुर्घटनासँग सम्बन्धित सम्पूर्ण विवरण एउटै प्रणालीमा राख्ने व्यवस्था प्रस्ताव गरेको हो।
विधेयकको दफा ३३ मा सडक दुर्घटना अभिलेख तथा घाइते उद्धार व्यवस्थापन प्रणाली स्थापना र सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ। उक्त दफाको उपदफा (१) अनुसार सडक दुर्घटनाको अध्ययन तथा अनुसन्धान, दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन, भौतिक तथा मानवीय क्षतिको व्यवस्थित अभिलेख र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन राष्ट्रिय सडक सुरक्षा परिषद्ले यस्तो प्रणाली स्थापना तथा सञ्चालन गर्नेछ।
प्रस्तावित विद्युतीय प्रणालीमा दुर्घटनासम्बन्धी विवरण पहिलोपटक प्रविष्ट गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई तोकिएको छ। दुर्घटनासँग सम्बन्धित अन्य निकायले पनि आ–आफ्नो क्षेत्रसँग सम्बन्धित आवश्यक तथ्याङ्क प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।
दुर्घटनापछि उद्धारमा संलग्न निकाय, उपचार गर्ने स्वास्थ्य संस्था, बिमा कम्पनी तथा सम्बन्धित संस्था, सडकसँग सम्बन्धित निकाय र स्थानीय तहलाई समेत प्रणालीमा जोडिने विधेयकमा उल्लेख छ।
त्यस्तै, अन्य सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका प्रणालीमा रहेका आवश्यक तथ्याङ्कसमेत तोकिएको प्रक्रिया पूरा गरी स्वचालित रूपमा सडक दुर्घटना अभिलेख प्रणालीमा उपलब्ध गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
एकीकृत प्रणाली सञ्चालनमा आएपछि सडक दुर्घटनाको संख्या, मानवीय तथा भौतिक क्षति, घाइतेको उपचार र बिमा दाबी तथा भुक्तानीको अवस्थासम्बन्धी तथ्याङ्क एकै स्थानबाट प्राप्त गर्न सकिनेछ। यसबाट दुर्घटनासम्बन्धी तथ्याङ्क व्यवस्थापन सहज हुनुका साथै बिमा दाबीमा हुन सक्ने अनियमितता नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।