काठमाडौँ । लगातार भइरहेको वर्षा तथा आगामी केही दिनमा अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो।
चितवन तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी दिनमा थप भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले बाढी, पहिरो, डुबानलगायत विपद्जन्य जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा सवारीचालकको सुरक्षाका लागि रातिको समयमा सडक आवागमन रोक्ने निर्णय गरिएको हो।
प्रशासनले यात्रु तथा सवारीचालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी गरिने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
वर्षाका कारण सडकको अवस्था प्रतिकूल हुन सक्ने तथा यात्रा जोखिमपूर्ण बन्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न प्रशासनले सबैलाई आग्रह गरेको छ।