काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा जापानी विदेशमन्त्री मोटेगीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावितहरूप्रति समवेदना प्रकट गरे ।
जापानी विदेशमन्त्रीले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै कठिन परिस्थितिमा जापान नेपालसँगै रहेको बताउनुभयो । उहाँले आपत्कालीन अवस्थादेखि दीर्घकालीन पुनःस्थापनासम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिनुभयो । उहाँले विपद्मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसमेतको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी गराए ।
भेटवार्तामा जापानी विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण तथा विकास निर्माणका क्षेत्रमा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिबल’ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पुर्याउने विश्वास पनि उहाँले व्यक्त गरे।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग सहकार्य गर्दै नेपालको विकास प्रयासमा जापानले निरन्तर सहयोग गर्ने उहाँले बताए।
परराष्ट्रमन्त्री खनालले जापानले लामो समयदेखि गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका अवसरमा नेपाल–जापान सम्बन्धलाई थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।