काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ (इयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल–इयु साझेदारीका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालले सामना गरिरहेको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले पठाउनुभएको सन्देशप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा दुवै पक्षले नेपाल र इयुबीचको साझेदारीका विविध आयामबारे विचार आदानप्रदान गर्दै आपसी सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्याएका थिए ।
विशेषगरी, हालै नेपालमा आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।