काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सवारीसाधनमा भइरहेका आगलागी तथा दुर्घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
यातायात व्यवस्था विभागले सोमबार आयोजना गरेको छलफलमा बोल्दै सिटौलाले त्रिपुरेश्वरमा चालकसहित सवारीसाधन जलेको घटनालाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराए । देशका विभिन्न स्थानमा सवारीसाधनमा पटक–पटक आगलागी भइरहेकाले यसको कारण पहिचान गरी प्राविधिक अध्ययन सार्वजनिक गर्नुपर्ने उनले बताए ।
विशेषगरी विद्युतीय सवारीसाधन (ईभी), माइक्रोबस तथा बसमा आगलागी हुँदा चालक र यात्रुले समयमै बाहिर निस्कन कठिनाइ हुने गरेको भन्दै उनले सुरक्षा मापदण्ड र प्राविधिक परीक्षणमा तत्काल सुधार आवश्यक रहेको बताए ।
‘आज जलेको सवारीसहित पटक–पटक यस्ता घटना किन भइरहेका छन् ? यस विषयमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ,’ सिटौलाले भने ।
ईभीमा आगलागी हुँदा ढोका नखुल्ने वा यात्रु बाहिर निस्कन कठिन हुने अवस्थाको प्राविधिक कारणबारे निर्माता कम्पनीसँगै सरकारी प्राविधिक निकायले स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ थियो । आगलागी वा दुर्घटनाका बेला यात्रु तथा चालकले अपनाउनुपर्ने सुरक्षा उपायबारे पूर्वसूचना र सचेतना आवश्यक रहेको उनले बताए ।
पछिल्ला घटनाले यातायात व्यवसायी र सर्वसाधारणमा त्रास बढाएको भन्दै सिटौलाले सम्बन्धित सरकारी निकायलाई तत्काल सुरक्षा मापदण्ड, प्राविधिक परीक्षण र घटनाको कारण पहिचानमा काम गर्न आग्रह गरे । व्यवसायी तथा सम्बन्धित पक्षलाई संयमित रहन पनि उनले आग्रह गरे।
‘जब मानिस जल्छ, जब आगो बल्छ, त्यसपछि मात्रै हामी तात्ने परिपाटीको अन्त्य हुनुपर्छ,’ उनले भने।