काठमाडौँ। भोटेकोशी बाढीमा परी २ सय ३३ जना चालक तथा सहचालक बेपत्ता भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। भदौ १० मा आएको बाढीले यातायात क्षेत्रमा अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्याएको महासंघले बताएको छ। महासंघका अनुसार हालसम्म १ सय ९१ वटा सवारी साधन हराएको पुष्टि भएको छ भने प्रारम्भिक विवरणमा करिब ३ सय बस, १ सय माइक्रो/मिनीबस तथा ४ सय ट्रक र कन्टेनरसहित करिब ९ सय सवारी साधनमा क्षति पुगेको छ।
जडिबुटीमा आयोजित बाढीमा ज्यान गुमाएकाहरूको स्मृति सभामा महासंघ अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्रमा भएको क्षतिको विवरण सार्वजनिक गरेका थिए। उनका अनुसार नेपाल अरनिको यातायात प्रालिका १८ बस, एक मिनी ट्रक, दुई जिप र चार कन्टेनर पूर्ण रूपमा ध्वस्त भएका छन् भने कम्पनीका ५० भन्दा बढी मजदुर तथा स्वरोजगार व्यवसायी बेपत्ता छन्।
नमस्ते पासाङ ल्हामु यातायात प्रालिका १८ बस र २१ कर्मचारी तथा नारायणी यातायात व्यवसायी प्रालिका ५९ ट्रक तथा कन्टेनरसहित ७० मजदुर बेपत्ता छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, कलंकीका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरसहित ४० कर्मचारी सम्पर्कविहीन छन्। हिमालयन यातायात प्रालिका चार ट्रक, १६ कन्टेनर, एक सुमो र सात टिपरसहित १० चालक तथा सहचालक पनि बेपत्ता छन्। भक्तपुर न्यू भिजनका ६ सवारी र दुई मजदुर, नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबस र नौ मजदुर तथा पृथ्वी राजमार्ग कम्पनीको एक बस र चालकसहित २२ यात्रु पनि सम्पर्कविहीन रहेको महासंघले जनाएको छ।
महासंघले बाढीमा बगेका तथा बेपत्ता सवारी साधनको बैंक तथा वित्तीय संस्थाको किस्ता तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष सिटौलाले भने, ‘भोलिदेखि नै बैंकहरूले ताकेता गर्ने अवस्था आउन सक्छ, त्यसैले ती सवारीको किस्ता अहिलेलाई स्थगित गरी उचित क्षतिपूर्ति र बिमा भुक्तानीको व्यवस्था मिलाउनुपर्छ।’
महासंघले मृतक तथा बेपत्ता चालक–सहचालकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ। ठूलो क्षति व्यहोरेका यातायात व्यवसायी उद्धारमा समेत खटिएको महासंघले जनाएको छ। कलंकीस्थित टिपर व्यवसायी संघले विभिन्न क्षेत्रमा निःशुल्क टिपर उपलब्ध गराएको तथा महासंघका पदाधिकारी खोजी कार्यमा खटिएको बताइएको छ।
यसैबीच, अरनिको यातायात प्रालिले प्रधानमन्त्री राहत कोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ महासंघमार्फत हस्तान्तरण गरेको छ। बाढीपहिरोले काठमाडौं जोड्ने पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीर र मलेखु पुललगायत क्षेत्रमा क्षति पुर्याउँदा पेट्रोलियम पदार्थ तथा ग्यास बोकेका ठूला सवारी बाटोमै रोकिएका छन्।
महासंघले वैकल्पिक मार्गबाट सेवा सञ्चालनको प्रयास भइरहेको जनाउँदै अवरुद्ध सडकको मर्मतलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ। सडक सञ्जाल अस्तव्यस्त हुँदा अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित भएको महासंघले जनाएको छ।