काठमाडौं। सामान्य दिन हुन्थ्यो भने कक्षा ५ का मनिष बस्नेत यतिबेला विद्यालयको बेन्चमा बसेर साथीहरूसँग पढिरहेका हुन्थे । तर सोमबार उनको हातमा किताब–कापी होइन, खाली ग्यास सिलिण्डर छ । घरको चुलो बाल्ने ग्यासको खोजीमा उनी शनिबारदेखि काठमाडौंको एक साँघुरो गल्लीमा लाइन बसिरहेका छन् ।
सडकको पेटीभरि सयौँ रातो एलपीजी सिलिण्डर फलामे सिक्री र ताल्चाले एकअर्कासँग बाँधिएका छन् । सिलिण्डरको त्यही लस्करबीच मनिष पनि आफ्नो पालो कुर्दै छन् । ग्यास डिपो नखुलेपछि उनको विद्यालय छुटेको छ।
‘ग्यास छैन । ग्यास पाएन । ग्यास छैन भनेकाले स्कुल नि जान पाएन । १ दिनको छुट्टी लिएर यहाँ आएको छु,’ मनिषले भने, ‘यो जुन नेता आए नि यो ग्यासको चाहीँ लाइन बस्नुपर्ने कहिले हट्दैन ।’
शनिबारदेखि लाइनमा बसेका मनिषलाई मंगलबारसम्म ग्यास आउने आश्वासन दिइएको छ । तर उनी लामबाट हट्न सक्ने अवस्थामा छैनन् । केही समय आफ्नो सिलिण्डर छाडेर गए पछाडिको व्यक्तिले आफ्नो सिलिण्डर अगाडि सार्ने डर उनलाई छ । त्यसैले विद्यालय जाने उमेरमा उनी सिलिण्डरको पहरा दिइरहेका छन् ।
आइतबार साँझसम्म पनि डिपोको सटर खुलेन । ‘भोलि बिहानै गाडी आउँछ’ भन्ने आश्वासन पाएपछि मनिषले आमाबुबासँग सल्लाह गरे । आमाबुबा ज्यालामजदुरीमा जानैपर्ने भएपछि लाइन छाड्ने विकल्प उनीसँग थिएन । विद्यालयबाट एक दिनको बिदा लिएर आएका मनिषको बिदा अब चार दिनको गैरहाजिरीमा बदलिने अवस्था बनेको छ ।
सरकार र नेपाल आयल निगमले भने बजारमा ग्यास अभाव नभएको र उपभोक्ताले आत्तिन नपर्ने बताउँदै आएका छन् । तर काठमाडौंमै सयौँ उपभोक्ता खाली सिलिण्डर लिएर घण्टौँदेखि लाइनमा छन् । कतिपय ठाउँमा बालबालिकासमेत सिलिण्डरको पालो जोगाउन सडकमा बस्न बाध्य छन् ।
मनिषको समस्या एउटा परिवारको चुलोमा सीमित छैन । ग्यासको अभाव र वितरणमा देखिएको अव्यवस्थाले विद्यालय जाने बालबालिकाको नियमित पढाइसमेत प्रभावित भएको छ । चुलो बाल्न आवश्यक एउटा सिलिण्डरका लागि कक्षाकोठा छाडेर सडकमा बस्नुपर्ने अवस्था आफैँमा आपूर्ति व्यवस्थाको गम्भीर प्रश्न बनेको छ।
मंगलबार ग्यास आएर मनिषको पालो आउला वा नआउला, त्यसको टुंगो छैन । तर ग्यासको लाममा बितेका उनका विद्यालयका दिन भने फर्कने छैनन् ।