काठमाडौँ। कान्ति राजमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । पहिरोका कारण ठप्प बनेको यातायात खुलाउन अहिले कार्यस्थलमा तीव्र रूपमा काम भइरहेको छ ।
राजमार्गमा थुप्रिएको पहिरो हटाउन भारी उपकरण तथा एक्स्काभेटर प्रयोग गरिएको छ । सडक छेउका विद्युतीय पोलमा क्षति नपुगोस् भनेर प्राविधिक टोलीले आवश्यक सावधानी अपनाउँदै पहिरो पन्छाउने काम गरिरहेको छ ।
सम्बद्ध अधिकारीका अनुसार सडकको ट्रयाक खोल्ने काम लगभग सम्पन्न भइसकेको छ । थप पहिरो नखसे केही समयभित्रै सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आउनेछ । सडक अवरुद्ध भएपछि रोकिएका सवारीसाधन र यात्रु सडक खुल्ने प्रतीक्षामा छन् ।