बाजुरा । बाजुराका किसान यतिबेला बगैँचामा लटरम्म पाकेका स्याउ टिप्न व्यस्त छन्। पछिल्लो समय व्यावसायिक स्याउ खेती गर्ने किसानको संख्या बढेसँगै जिल्लामा स्याउ खेतीको क्षेत्रफल र उत्पादन दुवै विस्तार हुँदै गएको छ। राम्रो आम्दानीको स्रोत बन्न थालेपछि किसान स्याउ खेतीतर्फ आकर्षित भएका हुन्।
पछिल्ला वर्षहरूमा किसानले स्याउका बगैँचा विस्तार गर्दै आएका छन्। यस वर्ष विगतको तुलनामा उत्पादन बढे पनि बजारसम्म पुर्याउन आवश्यक सडक, ढुवानी र भण्डारणको सुविधा नहुँदा किसान समस्यामा छन्। वर्षौंदेखि भोग्दै आएको यो समस्या यस वर्ष पनि दोहोरिएको छ।
बाजुरामा स्याउ उत्पादनको मुख्य क्षेत्र पूर्वी–उत्तरी भेगका बूढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिका हुन्। गौमूल र खप्तड छेडेदह गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा समेत स्याउ उत्पादन हुने भए पनि ती क्षेत्रमा व्यावसायिक खेती विस्तार हुन नसकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
जिल्लाकै सबैभन्दा बढी स्याउ खेती हुने बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान यतिबेला बगैँचा राताम्मे भएपछि स्याउ टिप्न व्यस्त छन्। सहारा कृषि फार्मका किसान शेरबहादुर रावतका अनुसार अधिकांश स्याउ पाकिसकेका छन्। फुजी जातको स्याउ भने अन्य जातको तुलनामा केही ढिला पाक्ने भए पनि यहाँका किसानले टिप्न सुरु गरिसकेका छन्।
तर स्याउ बजारमा लैजान भने किसानलाई निकै कठिनाइ छ। वर्षायाम सुरु भएयता तीन महिनादेखि जिल्लाको मुख्य सडकखण्ड मार्तडी–कोल्टी अवरुद्ध हुँदा सवारीसाधनबाट ढुवानी गर्न समस्या भएको हो। सडक पुगेका ठाउँमा गाडीबाट तथा अन्य स्थानमा किसानले पिठ्युँमै बोकेर स्याउ सदरमुकामसम्म पुर्याउनुपर्ने अवस्था छ।
उत्पादन भएको स्याउमध्ये करिब ४० प्रतिशत मात्र बजारसम्म पुग्ने गरेको किसानको भनाइ छ। यातायात र नजिकको बजारको अभावमा करिब ६० प्रतिशत स्याउ बारीमै खेर जाने गरेको छ।
स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका किसान मिलन शाहीले उत्पादन बढे पनि ढुवानी, बजार र भण्डारणको सुविधा नहुँदा स्याउ बगैँचामै खेर गइरहेको बताउनुभयो। लाखौँ रुपैयाँ लगानी गरेर खेती सुरु गरे पनि अहिले स्याउ बिक्री गर्ने बजार नपाउँदा प्रतिकेजी २० रुपैयाँसम्ममा बारीबाटै बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। बिक्री नभएको स्याउ गाईभैँसीलाई खुवाउनुपर्ने बाध्यता रहेको उहाँले बताए।
सडक बन्द भएका बेला स्याउलाई सुरक्षित राखेर सडक खुलेपछि राम्रो मूल्यमा बिक्री गर्न सकिने भएकाले किसानले चिस्यानयुक्त भण्डारण अर्थात् कोल्ड स्टोरको माग गरेका छन्। किसान उज्ज्वल रावतले कोल्ड स्टोर भएको भए अहिले बाटो बन्द भए पनि स्याउ सुरक्षित राख्न सकिने बताउनुभयो। भण्डारणको सुविधा नहुँदा स्याउ बारीमै झरेर कुहिने अवस्था रहेको उहाँको भनाइ छ।
स्याउ उत्पादन बढ्दै गएसँगै उचित मूल्य, भण्डारण, प्याकेजिङ र ढुवानीको व्यवस्था बाजुराका किसानका लागि प्रमुख चुनौती बनेको छ। किसानले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग स्याउ उत्पादन क्षेत्रलाई लक्षित गरी सडक, ढुवानी तथा भण्डारणको व्यवस्था गर्न माग गरेका छन्।
विशेषगरी स्याउ उत्पादन हुने गाउँसम्म सडक विस्तार गर्नुका साथै सञ्चालनमा रहेका सडकलाई बाह्रै महिना चल्ने बनाउनुपर्ने किसानको माग छ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वआर्थिक मामिला मन्त्री नरेश शाहीले बाजुरामा उत्पादन हुने स्याउले सिङ्गो सुदूरपश्चिमको माग धान्न सक्ने बताउनुभयो। प्रदेशको कृषि मन्त्रालयको रिपोर्टले समेत स्वामीकार्तिक खापर गाउँपालिका र बूढीनन्दा नगरपालिकाको स्याउले सुदूरपश्चिमको माग धान्न सक्ने देखाएको उहाँले बताए। त्यसका लागि बजार व्यवस्थापन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पनि बाजुरामा स्याउ खेतीको ठूलो सम्भावना रहेको बताए।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानमा करिब ३७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। जिल्लामा गत वर्ष एक हजार २२ मेट्रिक टन स्याउ उत्पादन भएको थियो।
चालु आर्थिक वर्षमा स्याउ ढुवानीका लागि अनुदान कार्यक्रम राखिए पनि स्याउ पाक्ने समयसम्म प्रदेशको बजेट पारित नहुँदा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले बताए।