काठमाडौं। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको बताएकी छन् ।
बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकमा थापाले बाढीपछिका पहिलो दुई दिन उपलब्ध स्रोतसाधनअनुसार उद्धार र राहतको काम भए पनि त्यसपछि सरकार योजनाबद्ध रूपमा अघि बढ्न नसकेको बताइन् ।
‘त्यसपछि प्रिप्लानिङसहित अगाडि बढ्नुपर्थ्यो, तर हामी त्यसमा चुकेका छौँ । चुकेकोलाई चुकेको भन्नैपर्छ,’ उनले भनिन् ।
जलविद्युत् आयोजनाका टनेलभित्र रहेका मानिसको उद्धार अझै हुन नसकेको दाबी गर्दै उनले सरकारले टनेलभित्रबाट मानिस उद्धार गरिएको भन्दै गलत प्रचार गरेको आरोप लगाइन् । ‘अहिलेसम्म कुनै पनि टनेलभित्र पसेको मानिस निकालिएको छैन,’ उनले भनिन् ।
त्रिशूली–३ ए आयोजनाको टनेलभित्र मानिस जीवितै रहेको आशंका रहेकाले उद्धार प्रयास जारी राख्नुपर्ने उनको भनाइ थियो । विपद्का बेला विदेशी सहयोग लिन हिचकिचाउन नहुने भन्दै उनले स्थानीय तह र प्रदेशसँग पनि प्रभावकारी समन्वय हुन नसकेको आरोप लगाइन् ।
राहत पर्याप्त भए पनि पूर्वाधार अभावका कारण प्रभावित क्षेत्रमा पुर्याउन समस्या भएको भन्दै थापाले विद्युत् सेवा तत्काल सञ्चालन गर्न माग गरिन्।