काठमाडौं । गत हप्ताको विनाशकारी भोटेकोशी बाढीपछि अमेरिकाले नेपाललाई थप मानवीय तथा विपद् प्रतिकार्य सहयोग उपलब्ध गराएको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार बुधबार अमेरिकी सेनाका दुई वटा मालवाहक विमानमार्फत ५ हजार थान विशेष विपद् पीडितको उद्धार तथा शव व्यवस्थापनसम्बन्धी सामग्री, ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर र अगाडिबाट सामग्री उठाउने मेसिन (फ्रन्ट–एन्ड लोडर) नेपाल ल्याइएको हो।
यी सामग्री नेपाल नेतृत्वको खोजी, उद्धार तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउन उपलब्ध गराइएको दूतावासले जनाएको छ।
नेपाल सरकारले गरेको अनुरोधका आधारमा उक्त सहयोग पठाइएको अमेरिकी दूतावासको भनाइ छ।
यसअघि अमेरिकाले बाढीपहिरोको प्रतिकार्यका लागि ३६ लाख अमेरिकी डलर (३.६ मिलियन डलर) बराबरको सहयोग घोषणा गरिसकेको थियो।