काठमाडौं। परराष्ट्र मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा रहेका सुरुङबाट निकालिएका शव सुरुङभित्रका श्रमिकका हुन् वा बाहिरका भन्ने यकिन गर्न विवरण संकलन भइरहेको जनाएको छ ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित निकायबाट आधिकारिक विवरण प्राप्त भएपछि मात्रै सुरुङभित्र कति श्रमिकको उद्धार भयो भन्ने स्पष्ट हुने बताए ।
‘ती सुरुङभित्रका हुन् वा बाहिरका हुन् भन्नेबारे मन्त्रालयले विवरण अद्यावधिक गरिरहेको छ,’ उनले भने ।
उद्धारका लागि थप उपकरण आवश्यक रहेकाले साझेदार निकायसँग सहयोग मागिएको उनले बताए । प्रयोग भइरहेका उपकरण बिग्रिएको वा काम नलाग्ने अवस्थामा रहेकोबारे भने मन्त्रालयलाई औपचारिक जानकारी नआएको उनको भनाइ थियो ।
क्षेत्रीका अनुसार अहिले सरकारको प्राथमिकता खोज तथा उद्धार हो । प्रभावित क्षेत्र बसोवासका लागि सुरक्षित छन् कि छैनन् भन्ने प्राविधिक अध्ययन उद्धारपछि गरिनेछ । त्यसपछि उत्थानशील पुनर्निर्माणको योजना अघि बढाइने उनले बताए ।