वालिङ । भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रक्तदान कार्यक्रम आयोजना गरी १११ पिन्ट रगत सङ्कलन गरिएको छ ।
जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा भीरकोट–बयरघारीमा सञ्चालन गरिएको रक्तदान शिविरमा १११ पिन्ट रगत सङ्कलन गरिएको हो ।
घाइतेको सङ्ख्या धेरै रहेकाले रगतको अभाव हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै रक्तदान शिविर आयोजना गरिएको नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लले बताए । उनका अनुसार विपद्का बेला मानवीय सहयोगमा जुट्नुपर्छ भन्ने भावनाले शिविर आयोजना गरिएको हो ।
शिविरमा रक्तदाताहरूले स्वतःस्फूर्त रूपमा सहभागिता जनाएका थिए ।
सङ्कलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटी स्याङ्जास्थित ब्लड बैंकमा भण्डारण गरिने र आवश्यकताअनुसार सम्बन्धित ठाउँमा पठाउने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए।