काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १ प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत उक्त परिमाणमा चिनी आयात गरिने जानकारी दिए ।
हाल बजारमा चिनीको अभावसँगै मूल्यसमेत बढेको उपभोक्ताको गुनासो छ । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।