काठमाडौँ – भोटेकोशी र त्रिशूली नदीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका बाढीविद् सरस्वती विष्टका अनुसार भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै वर्षा हुने सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा जलसतह उल्लेख्य बढ्न सक्नेछ। साथै आसपासका स–साना नदी तथा खोलामा समेत बहाव बढ्ने सम्भावना रहेको उनले बताइन्।
उनका अनुसार ती नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत र डोल्पाका आसपासका स–साना नदीमा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
त्यस्तै, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।