रसुवा। भदौ १० गते चीनको केरुङ क्षेत्रमा आएको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो। भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढी (फ्ल्यास फ्लड) ले बस्ती, सडक, पुल र जलविद्युत् आयोजनासहितका संरचना बगायो। कैयौँ नागरिक बेपत्ता छन्। विपद्को केही दिन बितिसक्दा पनि आफन्तको अवस्था पत्ता नलागेका परिवारहरू अस्पताल र शवगृह धाइरहेका छन्।
कालिका गाउँपालिका–३ का अर्जुनप्रसाद न्यौपानेका अनुसार रसुवागढीदेखि बेत्रावतीसम्मको तटीय क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ। रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबेसी, पहिरेबेसी र मैलुङलगायत क्षेत्रमा रहेका बस्ती तथा भौतिक संरचना बाढीले तहसनहस पारेको उनले बताए।
‘हाम्रो जिल्ला नेपालको अन्तिम भूभागमा पर्ने भएकाले पनि हो कि, राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ,’ उनले भने, ‘उद्धारका लागि समयमै हेलिकप्टर पुग्न सकेन ।’
सडक र पुल बगाएपछि रसुवाको माथिल्लो भेगका धुन्चे, स्याफ्रु, गत्लाङ, गोल्जुङ, थुमन, ब्रिदिम, हाकु र तिरुलगायतका गाउँको सडक सम्पर्क विच्छेद भएको छ। खाद्यान्न ढुवानीको वैकल्पिक मार्गसमेत नभएकाले तत्काल हवाई माध्यमबाट राहत पुर्याउन नसके थप संकट निम्तिने स्थानीयको चिन्ता छ।
बाढीले परिवारका सदस्य गुमाएका कतिपयले भने शवसमेत पहिचान गर्न पाएका छैनन्। नुवाकोटको विदुर–१०, बेत्रावतीका शेषबहादुर लामिछानेले भदौ १० को बाढीमा ४७ वर्षीया श्रीमती गुमाए। त्रिशूली नदीभन्दा माथि रहेको उनको घरसमेत बाढीको चपेटामा पर्यो।
‘श्रीमतीले मलाई बुबा र दाइहरूलाई बचाउन पठाएकी थिइन्, मैले उनीहरूलाई त सुरक्षित ठाउँमा पुर्याएँ, तर मेरी श्रीमती भाग्न सकिनन्,’ उनले भने।
लामिछाने अहिले काठमाडौंका अस्पताल र शवगृहमा श्रीमतीको शव खोजिरहेका छन्। फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको पीडित परिवारको गुनासो छ। डीएनए परीक्षणका लागि लाग्ने समय र खर्चले उनीहरूलाई थप तनावमा पारेको छ।
‘हामी त सडकमा आयौँ । राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति मिल्ने थियो,’ लामिछानेले भने।
सूचना दिइएको थियो कि थिएन ?
बाढीको पूर्वसूचनालाई लिएर सरकार र पीडितका दाबी भने बाझिएका छन्। सरकारले समयमै सूचना दिएको बताउँदै आएको छ। तर प्रभावित क्षेत्रका नागरिकले आफूहरूले कुनै प्रभावकारी चेतावनी नपाएको बताएका छन्।
सल्यानबाट रसुवा हाइड्रोपावरमा काम गर्न आएका १६ जना कामदारको समूह नै बाढीमा परेर बेपत्ता भएको छ। आफन्त आशा मगरले आफ्ना दुई भाइ, काका र छिमेकीसहित १६ जना बेपत्ता भएको बताइन्। उनका अनुसार समयमै सूचना पाएको भए उनीहरू सुरक्षित स्थानतर्फ जान सक्थे।
‘हाम्रो दुईवटा भाई, काका र छिमेकी गरी १६ जना सबैलाई बाढीले लग्यो । सरकारले सूचना दिएको भए उनीहरू किन भागेनन् ? किन कोठाभित्रै थुनिएर मर्नुपर्यो ?’ उनले भनिन्।
टिचिङ अस्पताल र ट्रमा सेन्टरमा आफन्तको नाम वा फोटो भेटिने आशमा पुगेका परिवारहरू निराश भएर फर्किरहेका छन्। कतिपय परिवारले आफन्त जीवितै भेटिने आशा गुमाइसकेका छन्। अन्तिम पटक आफन्तको अनुहारसमेत देख्न नपाउने हो कि भन्ने पीडा उनीहरूमा छ।
बाढीपीडितले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन्। घर, सम्पत्ति र परिवारका सदस्य गुमाएका परिवारका लागि विशेष राहत तथा पुनःस्थापना प्याकेज ल्याउनुपर्ने उनीहरूको माग छ। भौगोलिक रूपमा विकट माथिल्लो रसुवामा सडक तथा पुलसमेत क्षतिग्रस्त भएकाले राहत, खाद्यान्न र उद्धारका लागि सरकारले तत्काल विशेष प्राथमिकतासहित काम गर्नुपर्ने स्थानीयको भनाइ छ।
भदौ १० को बाढीले रसुवामा ठूलो मानवीय र भौतिक क्षति मात्रै पुर्याएको छैन, विपद्को पूर्वतयारी, सूचना प्रवाह, उद्धार तथा राज्यको उपस्थितिमाथि समेत गम्भीर प्रश्न उठाएको छ। आफन्तको खोजीमा रहेका परिवारहरू अझै अस्पताल, शवगृह र नदी किनारमा आशा र पीडाबीच भौँतारिरहेका छन्।