काठमाडौँ । गत संस्करणको कांस्य पदक विजेता नेपालको महिला कबड्डी टोलीले २०औँ एसियाली खेलकुदमा रोमाञ्चक जितसहित सुखद सुरुआत गरेको छ। जापानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार टोकाई सिटिजेन जिम्नाजियममा भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अंकले पराजित गरेको हो।
खेलको सुरुआतमा कमजोर प्रदर्शन गरेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। पहिलो हाफमा २४–१५ अंकले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।
खेलको सुरुआतदेखि नै थाइल्यान्डले नेपालमाथि दबाब बनाएको थियो। नेपालको डिफेन्स कमजोर हुँदा थाइल्यान्डले त्यसको फाइदा उठाउँदै अग्रता कायम राख्यो। पहिलो हाफमा नेपाल दुई पटक अलआउटसमेत भएको थियो।
नेपालले बोनस अंकको सहारामा थाइल्यान्डलाई पछ्याउने प्रयास गरे पनि पहिलो हाफमा अपेक्षित प्रदर्शन गर्न सकेन। यस क्रममा रेडर रबिना चौधरीले बोनस अंक दिलाउँदै टोलीलाई खेलमा टिकाइराख्न महत्वपूर्ण भूमिका निर्वाह गरिन्।
दोस्रो हाफमा भने नेपालले रणनीति परिवर्तन गर्दै खेलमा फर्कने प्रयास गर्यो। पूर्वकप्तान मेनुकाकुमारी राजवंशीले कर्नरबाट कभरमा तथा कप्तान मानमति विष्टले कभरबाट कर्नर साइडमा आफ्नो पोजिसन परिवर्तन गरेपछि नेपालको डिफेन्समा सुधार आएको थियो।
रणनीतिक परिवर्तनपछि नेपाली टोलीले दोस्रो हाफमा थाइल्यान्डलाई दुई पटक अलआउट गर्न सफल भयो। दोस्रो हाफमा नेपालले ३१ अंक जोड्दा थाइल्यान्डले १९ अंक मात्रै बनाउन सक्यो।
खेल सकिन तीन मिनेट बाँकी रहँदा नेपालले ३९–३९ को बराबरी गरेको थियो। थाइल्यान्डकी रेडर इदाम पावारिसिलाई रोक्दै नेपालले अंक बराबरी गरेको हो। त्यसलगत्तै रेडमार्फत थप अंक जोड्दै नेपालले खेलमा पहिलो पटक अग्रता लियो।
अग्रता गुमाएपछि थाइल्यान्डले तीव्र गतिमा खेलमा फर्कने प्रयास गरे पनि नेपाली टोलीले डिफेन्समा सुधार गर्दै विपक्षीको प्रयास विफल बनायो। अन्तिम ६ मिनेटमा लगातार दबाब सिर्जना गरेको नेपालले अन्ततः तीन अंकको अन्तरले जित हात पार्यो।
नेपालको जितमा रेडर रबिना चौधरीले उत्कृष्ट प्रदर्शन गरिन्।
समूह ‘बी’ मा नेपाल र थाइल्यान्डसँगै श्रीलंका तथा चाइनिज ताइपेइ रहेका छन्। थाइल्यान्डले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।
नेपालले अब बुधबार समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। चार टोली सहभागी समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको अर्को समूह ‘ए’ मा भारत, इरान, बंगलादेश र आयोजक जापान रहेका छन्।