नागोया । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाल र अफगानिस्तान तथा नेपाल र जापानबीच हुने क्रिकेट खेलको निःशुल्क टिकट वितरणबारे विवाद उत्पन्न भएको छ ।
नागोयास्थित नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोयाले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिपछि निःशुल्क टिकटको विषय सार्वजनिक बहसमा आएको हो ।
नेपाली जनसम्पर्क समिति, नागोया–जापानले मंगलबार सार्वजनिक गरेको ध्यानाकर्षणपत्रमा एसियाली खेलकुदअन्तर्गत सेप्टेम्बर २५ मा नेपाल र अफगानिस्तान तथा सेप्टेम्बर २६ मा नेपाल र जापानबीच नागोयामा हुने क्रिकेट खेलका लागि करिब २०० वटा निःशुल्क टिकट उपलब्ध भएको भन्ने विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिले उक्त विषयमा सत्य–तथ्य छानबिन गरी वास्तविक अवस्था यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । छानबिनका क्रममा कुनै अनियमितता, आर्थिक अपारदर्शिता वा गल्ती भएको पाइएमा सम्बन्धित व्यक्ति वा पक्षमाथि प्रचलित नियमअनुसार आवश्यक कारबाही गर्नसमेत समितिले ध्यानाकर्षण गराएको छ ।
यसैबीच, सामाजिक सञ्जालमा २०० वटा निःशुल्क टिकट कसले र कुन प्रक्रियाबाट वितरण गर्यो भन्ने प्रश्न उठाइएको थियो । यही विषयमा एनआरएनए नागोया क्षेत्रीय समन्वय परिषद्ले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूले २०० नभई ५० वटा निःशुल्क टिकट मात्र प्राप्त गरेको स्पष्ट पारेको छ ।
एनआरएनए नागोयाका अनुसार सेप्टेम्बर २१ मा संस्थाका संरक्षक दीपक कार्कीबाट सेप्टेम्बर २५ मा हुने क्रिकेट खेलका लागि ५० थान निःशुल्क टिकट प्राप्त भएको थियो । उक्त टिकट प्राप्त भएपछि त्यसको स्रोत, संख्या र वितरण प्रक्रियाका विषयमा कार्यसमितिमा छलफलसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
समुदायमा निःशुल्क टिकटको संख्या, मूल्य तथा अन्य विषयमा विभिन्न चर्चा र हल्ला चलेपछि गलत बुझाइ वा विवाद उत्पन्न हुनसक्ने भन्दै एनआरएनए नागोयाको कार्यसमितिले प्राप्त ५० वटै टिकट फिर्ता गर्ने निर्णय गरेको जनाएको छ ।
सोही निर्णयअनुसार मंगलबार बिहान करिब ११ः३० बजे एनआरएनए नागोयाले संरक्षक दीपक कार्कीलाई ५० वटै टिकट पूर्ण रूपमा फिर्ता गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनए नागोयाले समुदायमा भ्रम नहोस् भन्नका लागि सत्य, तथ्य र प्रमाणमा आधारित सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ । साथै प्रमाण र तथ्यबिनाका अपवाह, अनुमान वा गलत सूचना प्रवाह नगर्नसमेत अनुरोध गरेको छ ।
संस्थाका पदाधिकारी वा सदस्यको संलग्नताबारे कुनै प्रश्न वा आरोप प्रमाणित भए संस्थाको मूल्य–मान्यता तथा अनुशासनअनुसार आवश्यक कारबाही गरिने पनि एनआरएनए नागोयाले जनाएको छ ।
यसरी एकातिर सामाजिक सञ्जालमा २०० वटा निःशुल्क टिकटको विषय उठेपछि नेपाली जनसम्पर्क समितिले छानबिन र तथ्य सार्वजनिक गर्न आग्रह गरेको छ भने अर्कोतर्फ एनआरएनए नागोयाले आफूले ५० वटा टिकट मात्र प्राप्त गरेको र ती सबै फिर्ता गरिसकेको दाबी गरेको छ । अब निःशुल्क टिकट वास्तवमा कति उपलब्ध भएको थियो र त्यसको स्रोत तथा वितरण प्रक्रिया के थियो भन्ने विषय सम्बन्धित पक्षको थप स्पष्टतापछि टुंगो लाग्ने देखिन्छ ।
