काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तारका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानको विस्तृत योजना भने आगामी सचिवालय बैठकले तय गर्ने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकमा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले निर्वाह गर्नुपर्ने कार्यभार तथा पछिल्ला गतिविधिबारे जानकारी गराएका थिए ।
त्यसैगरी, वाम राजनीतिक दल तथा घटकसँग पार्टी एकताका लागि वार्ता गर्न देव गुरुङको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ रहेका छन् ।
बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सिङ्गो पार्टीपङ्क्ति परिचालन गर्ने निर्णयसमेत गरेको छ ।