पाल्पा । साँझ पर्नासाथ तानसेनका चोकहरूमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ भने उसको चाल पछ्याउँदै भुच्चा पनि नाच्दै अघि बढ्छ । दर्शकका लागि यो मनोरञ्जनको दृश्य भए पनि पाल्पाका केही युवाका लागि भने यो आफ्ना पुर्खाले हस्तान्तरण गरेको संस्कृति र परम्परा जोगाउने अभियान बनेको छ ।
नेवार समुदायको परम्परा, पहिचान र मनोरञ्जनसँग लामो समयदेखि जोडिएको लाखेनाच पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने जोखिममा परेको छ । यही परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले पाल्पाका युवा सक्रिय भएका छन् ।
पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवाले लाखेनाचलाई अभियानकै रूपमा अघि बढाएका छन् । उनीहरूले घण्टाकर्णदेखि भगवती जात्रा अर्थात् कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ विभिन्न स्थानमा लाखेनाच प्रदर्शन गर्दै आएका छन् ।
समूहका अध्यक्ष किरण चित्रकारका अनुसार अभियानको उद्देश्य नाच प्रदर्शनमा मात्र सीमित छैन । नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्नु पनि अभियानको प्रमुख लक्ष्य हो । “बाबुबाजेको परम्परा बिर्सिन थाल्यौँ, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ,” चित्रकारले भने, “लाखेनाच विस्तारै लोप हुँदै जान थालेको छ ।”
नेवारी संस्कृति अन्य समुदायमा लोकप्रिय हुँदै गए पनि स्वयं नेवार समुदायबाटै यसको संरक्षणमा पर्याप्त ध्यान पुग्न नसकेको चित्रकारको भनाइ छ । “अरू समुदायमाझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ, तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ,” उनले भने ।
इतिहासका जानकारहरूका अनुसार पाल्पा र आसपासका क्षेत्रमा करिब पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि लाखेनाचको प्रचलन सुरु भएको मानिन्छ । मणिमुकुन्द सेनले काष्ठकला तथा संस्कृतिमा निपुण नेवार समुदायलाई पाल्पा ल्याएपछि गुठी र जात्रा परम्परामार्फत लाखेनाच पनि भित्रिएको बताइन्छ ।
लाखेनाचको मुख्य आकर्षण यसको डरलाग्दो मुकुण्डो, विशेष वेशभूषा र बाजाको ताल हो । इतिहासका जानकार पुष्करराज रेग्मीका अनुसार मुकुण्डोको आकर्षणका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म लाखेनाच हेर्न उत्साहित हुने गरेका छन् । लाखेको हाउभाउ, ढोल–झ्याम्टाको ताल र आकर्षक वेशभूषाले नाचलाई थप रोमाञ्चक बनाउने उनले बताए ।
लोपोन्मुख अवस्थामा पुगेको लाखेनाच संरक्षणका लागि पाल्पाली नाट्य कला सांस्कृतिक समूहले तानसेनका बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल र वसन्तपुरलगायतका स्थानमा हरेक दिन साँझ ६ बजेदेखि करिब तीन घण्टा नाच प्रदर्शन गर्दै आएको छ ।
काठमाडौँ उपत्यकामा बढी प्रचलित परम्पराका रूपमा चिनिने लाखेनाच पछिल्लो समय पाल्पालगायत अन्य क्षेत्रमा पनि विस्तार भएको छ । तानसेनबाहेक नेवार समुदायको बसोबास रहेका रामपुर, सराई, हार्थोक र आर्यभञ्ज्याङमा समेत लाखेनाच प्रदर्शन गर्ने परम्परा कायम छ ।
लाखेनाचमा दुई जना कलाकारमध्ये एक जना लाखे र अर्को भुच्चाको भूमिकामा नाच्ने गर्छन् । लाखेले मुखमा डरलाग्दो मुकुण्डो लगाउनुका साथै पछाडि चौँरीगाईको चमर तथा महिलाले लगाउने घाँघर र चोलो लगाउने परम्परा छ । भुच्चाले भने पुरुषको भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् ।
पाल्पाका युवाले संस्कृति संरक्षणका लागि सुरु गरेको यस अभियानलाई छिमेकी जिल्लाका सरोकारवालाले पनि सकारात्मक रूपमा लिएका छन् । नयाँ पुस्ताको सक्रियताले लाखेनाचजस्तो मौलिक परम्पराको संरक्षण र पुस्तान्तरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।